चन्द्रनगरमा सामाजिक सुरक्षा कार्यविधि बनाउन समिति गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १, २०८३
|
|
१५७ पटक हेरिएको
Shares
चन्द्रनगरमा सामाजिक सुरक्षा कार्यविधि बनाउन समिति गठन

सारांश

  • सर्लाहीको चन्द्रनगर गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई थप प्रभावकारी, व्यवस्थित र सबै योग्य नागरिकको पहुँचमा पुर्‍याउने उद्देश्यसहित सामाजिक सुरक्षा आधारभूत कार्यविधि निर्माण प्रक्रिया अघि बढाएको छ।
  • यसका लागि गाउँपालिका उपाध्यक्ष गीता देवी महतोको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पाँच सदस्यीय सहजीकरण समिति गठन गरेको छ।
  • समिति गठन ग्रामीण नारी उत्थान सङ्घले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन गरिरहेको सीएसएसपी परियोजना अन्तर्गत गरिएको हो।

१ साउन, सर्लाही ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई थप प्रभावकारी, व्यवस्थित र सबै योग्य नागरिकको पहुँचमा पुर्‍याउने उद्देश्यसहित सामाजिक सुरक्षा आधारभूत कार्यविधि निर्माण प्रक्रिया अघि बढाएको छ।
यसका लागि गाउँपालिका उपाध्यक्ष गीता देवी महतोको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पाँच सदस्यीय सहजीकरण समिति गठन गरेको छ। समिति गठन ग्रामीण नारी उत्थान सङ्घले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन गरिरहेको सीएसएसपी परियोजना अन्तर्गत गरिएको हो। समितिको संयोजकमा वडा नं. ७ का अध्यक्ष दीपेन्द्र चौधरी रहेका छन्। सदस्यमा सामाजिक विकास शाखा प्रमुख सञ्जय महतो, स्वास्थ्य शाखा प्रमुख अमृतकुमार चौधरी, महिला तथा बालबालिका शाखा प्रमुख नगिना कुमारी साह तथा सदस्य–सचिवमा पञ्जीकरण शाखा प्रमुख अभिनाश कुसवाह रहेका छन्।

गाउँपालिकाका अनुसार समितिले सामाजिक सुरक्षा भत्तासम्बन्धी आधारभूत कार्यविधिको मस्यौदा तयार गर्ने, आवश्यक नीतिगत पैरवी गर्ने तथा गाउँ कार्यपालिकाबाट स्वीकृत गराई कार्यान्वयनमा ल्याउने जिम्मेवारी पाएको छ।
कार्यक्रममा गाउँपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा विभिन्न शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो। ग्रामीण नारी उत्थान सङ्घकी अध्यक्ष गोमा देवी न्यौपानेले सीएसएसपी परियोजना सर्लाहीका हरिपुर, ईश्वरपुर, चन्द्रनगर र ब्रह्मपुरी तथा महोत्तरीका तीन स्थानीय तहमा सञ्चालन भइरहेको जानकारी दिइन्। परियोजनामार्फत सामाजिक सुरक्षा, बालसंवेदनशील अभिभावक शिक्षा तथा नीतिगत पैरवीका कार्यक्रम सञ्चालन भइरहेको उनले बताइन्।

संस्थाका उपाध्यक्ष विष्णुप्रसाद चालिसेले परियोजनाले स्थानीय तहको सामाजिक सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। परियोजनाका प्रोजेक्ट अफिसर कृष्णराज धिमिरेले सामाजिक सुरक्षासँगै विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा पनि परियोजनाले काम गर्ने जानकारी दिए। सेभ द चिल्ड्रेनकी प्रतिनिधि अनिता तामाङले सहजीकरण गरेको कार्यक्रम सीएसएसपी परियोजनाका संयोजक चिरञ्जीवी पौडेलले सञ्चालन गरेका थिए। चन्द्रनगर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद आचार्यले कार्यविधि निर्माणपछि गाउँपालिका भित्र मापदण्ड पूरा गरेका सबै योग्य नागरिकलाई सामाजिक सुरक्षा भत्ताको पहुँच सुनिश्चित गर्न थप सहज हुने अपेक्षा गरिएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?