२३ भदौमा संसद् भवन बाहिरको घटनामा कार्की आयोगले औंल्याएका त्रुटि
११ चैत,काठमाडौं ।
गौरीबहादुर कार्की नेतृत्वको जाँझबुझ आयोगले जेनजी आन्दोलनको क्रममा पहिलो दिन (२३ भदौ) संसद् बाहिर भएको त्रुटि औंल्याएको छ । २३ भदौमा संसद् परिसर वरपर भएको घटनामा राज्यबाट त्रुटि भएको उल्लेख गर्दै प्रतिवेदन बुझाइएको छ । सुरक्षा निकायबाट बन्दुक जस्तो गम्भीर हतियारको प्रयोग हुनु र धातुको गोली चल्नु सरकारी पक्षको त्रुटि भएको आयोगको ठहर छ ।

हतियार प्रयोग हुनुअघि सबैले सुन्ने गरी प्रभावकारी रूपमा चेतावनी नदिएर सुरक्षाकर्मीले गोली चलाएको प्रतिवेदनमा उल्लेख छ । आन्दोलनकारीलाई तितरबितर पार्ने क्रममा नरम उपायहरू अवलम्बन नगरिएको प्रतिवेदनमा सरकारी कमजोरी औंल्याइएको छ । पानीको फोहरा, लाठी, ब्यारिकेड, हवाई फायर, वार्ता आदि लगायतमा पर्याप्त मात्रामा अपनाउने कार्य नभएको प्रतिवेदनमा उल्लेख गरेको छ । राज्यद्वारा मानवाधिकार प्रतिको उत्तरदायित्वको उल्लंघन भएको आयोगको ठहर छ ।

प्रदर्शनकारी अपवाद बाहेक निशस्त्र भएको जनाएको आयोगले प्रहरीले गम्भीर हतियार प्रयोग गरेर गोली चलाएको प्रतिवेदनमा उल्लेख छ । हतियारधारीले पालना गर्नुपर्ने विधि र प्रक्रिया नअपनाएर मानवअधिकार उल्लंघन गरिएको आयोगको ठहर छ ।



Post Comment