१३ असोज, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई हराएर उपाधि जितेपछि बधाई दिएका छन् । उनले सामाजिक सञ्जाल एक्समा भारतीय टिमलाई बधाई दिने क्रममा अपरेशन सिन्दूर खेलकुद मैदानमा भन्दै टिमको प्रशंसा गरे ।नतिजा उही भएको भन्दै भारतले जितेको उनले लेखे । भारतले गत मे महिनामा पाकिस्तानी आतंकवादविरुद्ध अपरेशन सिन्दूर चलाएको थियो । जसमा भारतले सहज जित हासिल गरेको थियो । त्यसयता भारतले पाकिस्तानविरुद्ध जुनसुकै खेल पनि जितिरहेको छ । खेलाडीले ट्रफी पाकिस्तानी पदाधिकारीबाट लिन मानेनन् जितको खुशी तब मिल्छ जब कुनै उपाधि खेलाडीले हातले स्पर्श गर्छन् । उक्त ट्रफी चुम्छन् । खुशीले रमाउँछन् । खेलाडीहरू मिलेर माथि फाल्छन् र तल समाउँछन् ।

तर यसपालि भारतले एसिया कप क्रिकेटको उपाधि जितेर पनि ट्रफी पाएन । हुनत भारत र पाकिस्तानबीचको क्रिकेटलाई खेलकुदका रुपमा मात्र लिनु गलत हुन्छ । यसमा दुई देशबीचको द्वन्द्व र भूराजनीति जोडिएको हुन्छ । त्यसैले दुवै देशका लागि जित्नु प्रतिष्ठाको विषय बन्छ । भारत–पाकिस्तानबीचको क्रिकेट खेल–लडाइँ नै हो । एक प्रकारले युद्ध जिते बराबर नै हो । गत २२ अप्रिलमा जब पाकिस्तानी आतंकवादी समूहले एक नेपालीसहित २८ जना भारतीय तीर्थयात्रीलाई निर्मम तरिकाले मार्यो तब भारतले निरन्तर पाकिस्तानमाथि दबाब बनायो । अनि अपरेशन सिन्दूर चलाएर ती आतंकवादीलाई पाकिस्तानी भूमिमै हवाई हमला गरी तहसनहस पार्यो । तसर्थ भारतले यसपालि एउटा निर्णय के गरेको थियो भने त पाकिस्तानी कुनै खेलाडीसँग हात मिलाउने न त ट्रफी कुनै पाकिस्तानी पदाधिकारीबाट लिने । सोअनुसार भारतले पाकिस्तानी पदाधिकारीबाट ट्रफी लिन चाहेन । यसको जानकारी भारतीय खेलाडीहरुले गराएका थिए । तर एसियाली क्रिकेट परिषद् (एसीसी) का अध्यक्षसमेत रहेका पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकबीले पनि ट्रफी आफूले नै दिने अड्डी कसे ।

भारतीय खेलाडीहरुले नलिएपछि उनले ट्रफी आफूले नै लिएर गए । खेल सकिएपछिको पत्रकार सम्मेलनमा भारतीय क्रिकेट कप्तान सूर्यकुमार यादवले आफूले पहिलो पटक उपाधि जितेर पनि ट्रफी नपाएको बताए । यता, भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का सचिव देवजीत सैकियाले भारतीय समाचार एजेन्सी एएनआईसँग यस विषयमा आगामी नोभेम्बरमा हुने आईसीसीको कन्फ्रेन्समा आपत्ति जनाउने बताए । उनले भारतीय टिमले पाकिस्तानी क्रिकेट बोर्डका कुनै पनि अधिकारीबाट ट्रफी नलिने निर्णय गरे बमोजिम खेलाडीहरुले ट्रफी नलिएको बताए । उनले ट्रफी भारतले छिट्टै पाउने आशासमेत गरेका छन् । पहलगाम आतंकवादी हमला र अपरेशन सिन्दूरपछि भारतमाथि यो दबाब थियो कि भारतीय टिमले पाकिस्तानसँग एसिया कपमा खेल्नु हुँदैन । भारतले खेल बहिस्कार त गरेन तर पूरै खेल अवधिमा पाकिस्तानी खेलाडीहरुसँग हात मिलाएन । भारतीय टिमको यो कदमपछि पाकिस्तानी कप्तान सलमान अली आगाले भारतीय टिमले अनादर गरेको आरोप लगाए । उनले भारतीय खेलाडीले क्रिकेटको अपमान गरेकोसमेत बताए । यसरी जित्यो भारतले फाइनल आइतबार राति भएको फाइनलमा पाकिस्तानमाथि ५ विकेटको जित हासिल गर्दै भारतले उपाधि जितेको हो । 
यूएईको दुबईमा भएको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९.१ ओभरमा अलआउट हुँदै १४६ रन बनायो । साहिबजादा फर्हानले ५७ तथा फखर जमानले ४८ रन बनाएको इनिङ्समा अन्तिम २० रन जोड्ने क्रममा पाकिस्तानले ७ विकेट गुमाएको थियो । कुलदीप यादवले ४ तथा जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले २–२ विकेट लिए । जवाफमा भारतले १९.४ ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गर्यो । तिलक बर्माले ५३ बलमा अविजित रहँदै ६९ रन बनाए । शिवम दुबेले २२ बलमा ३३ तथा सन्जु सामसनले २१ बलमा २४ रन जोडे । फहिम अशराफले ३ विकेट लिए । भारतले एउटै संस्करणमा पाकिस्तानलाई तीन पटक हराएर उपाधि जितेको हो । तिलक वर्मा प्लेयर अफ द फाइनल बने भने अभिषेक शर्मा प्लेयर अफ द सिरिज भए । भारतले नवौँ पटक एसिया कप जितेको हो ।

Post Comment