सडकमा किताब बेच्ने देखि मन्त्री सम्मको यात्रा, वैज्ञानिक महावीरले हाँक्नेछन् शिक्षा मन्त्रालय
६ असोज, काठमाडौं ।
वैज्ञानिक महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बने । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको शिक्षा मन्त्री बनेका उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार शपथ लिए । सरल जीवनशैली भएका पुन मन्त्रीमा सिफारिस हुँदै गर्दा पनि आविष्कार केन्द्रमा ग्यासबाट शव जलाउने भट्टी निर्माण भएको जानकारी गराउँदै थिए । दुई दिनअघि काठमाडौं आएका पुन आविष्कारका लागि आर्थिक जुटाउन जिल्ला जिल्लामा किताब बेच्न हिँडिरहेका थिए । आफ्नै पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ बोकेर उनले ५२६ दिनमा ४५ वटा जिल्लामा २ लाख ४० हजार पुस्तक बेचेका छन् ।

‘काठमाडौंमा आजदेखि महावीर पुनको हस्ताक्षर सहितको किताब किन्न चाहनेहरू राष्ट्रिय आविष्कार केन्द्रमा (त्रिभुवन विश्व विद्यालय, कीर्तिपुर) आउनुहोस्,’ आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । देशका विभिन्न जिल्लामा पुगेर माइकिङ गर्दै आफ्नो पुस्तकबारे जानकारी गराउँदै उनले बिक्री गरिरेहका थिए । स्थानीयले पनि पुनको किताब किनेर सहयोग र साथ दिएका थिए । पुस्तक बेचेर प्राप्त आम्दानीले कृषि औजार निर्माण गर्ने उनको योजना छ । तिहारपछि पूर्वी नेपालको पहाडी जिल्लामा किताब बेच्न जाने योजना उनको थियो । तर उनी मन्त्री भएका छन् । र, उनको भूमिका फेरिएको छ । युवाका सारथी महावीर पुन युवाहरूको सारथी हुन् । नेपालमै केही गर्छु भन्ने युवा वैज्ञानिकलाई उनले साथ दिने गरेका छन् । युवाकै लागि भनेर उनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको परिसमा आविष्कार केन्द्र स्थापना गरेका हुन् । बच्चालाई न्यानो बनाउने ‘बेबी वार्मर’, फूल फुल्ने ठाउँहरूमा मौरीलाई ओसार्न ‘ट्रली’ निर्माण पनि पुनको आविष्कार केन्द्रबाट भएको छ ।






Post Comment