३० भदौ, काठमाडौं ।
सोमबार शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा तीन मन्त्रीहरूको शपथ भयो । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराए । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालको शपथ लिएका हुन् । प्रधानमन्त्रीको शपथ ग्रहणमा नदेखिएका एक संवैधानिक पदाधिकारी मन्त्रीहरूको शपथग्रहणमा भने देखिए । उनी हुन्- राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल ।

प्रतिनिधिसभा विघटन भएपनि राष्ट्रिय सभा क्रियाशील भएकाले राष्ट्रिय सभाका अध्यक्ष दाहालको पद पनि यथावत छ । उनी मन्त्रीहरूको शपथमा गए । तर सभामुख देवराज घिमिरे भने जेन–जी आन्दोलनपछि दुई सार्वजनिक समारोहमा देखा परेनन् । दुई दिनअघिको प्रधानमन्त्रीको शपथग्रहण र सोमबारको मन्त्रीहरूको शपथमा उनी अनुपस्थित रहे । उपसभामुख इन्दिरा राना पनि दुवै समारोहमा अनुपस्थित रहिन् । प्रतिनिधिसभा विघटन भएपनि सभामुखको पद यथावत रहन्छ । प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारहरुको मनोनयनको दिन मात्रै सभामुखको पद रिक्त भएको मानिन्छ । उपसभामुखको पदीय हैसियत पनि सभामुखको सरह हुन्छ ।

Post Comment