सरकारको औचित्य पूर्ण रुपमा सकियो : कांग्रेस नेता कोइराला
२३ भदौ, काठमाडौं ।
जेनजी आन्दोलनमा सरकारले गरेको वर्वर र प्रदर्शन गरेको क्रुरता प्रति खेद व्यक्त गर्दै नेपाली कांग्रेसका नेता शेखर कोइराला वर्तमान सरकारको औचित्य पूर्ण रुपमा सकेको बताएका छन् । सोमबार साँझ सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले लेख्दै उनले आजको घटनाका कारण वर्तमान सरकारको औचित्य पूर्ण रुपमा समाप्त भएको बताएका छन् । ‘आज सरकारका कारण देशमा जे भयो त्यसको परिकल्पना सभ्य समाजमा कसैले पनि गर्न सक्दैन ।
जनताप्रति अनुत्तरदायी, जनताको आवाज सुन्न र बुझ्न नसक्ने निरंकुश क्रुर सरकारले हातमा किताब काँपी बोकेर देशभित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा बिद्यार्थीहरुमाथि बर्वर ढंगवाट गोली प्रहार गरेको छ,’ जेनजीलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘त्यसको जति निन्दा र भर्त्सना गरे पनि पुग्दैन । सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ ।
श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मल्हम लगाउन सक्दैन । यस पिडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरुसँगै छु र रहिरहनेछु । तपाईंहरुका माग समय सापेक्ष र जायज छन् । आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भन्दा अरु के होला र ? देशवाट भ्रष्टाचार निर्मुल हुनैपर्छ । आजवाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको छ । तपाईं हामी मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोजौं ।’
Post Comment