हितेन्द्रदेव शाक्यको दाबी : लोडसेडिङ होइन, सञ्जालले थेग्न नसकेर लाइन गएको हो
१२ साउन, चितवन ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशभर कतै पनि लोडसेडिङ नभएको दाबी गरेका छन् । सोमबार भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै शाक्यले केही प्राविधिक समस्या र अस्थायी अवरोधलाई लिएर गलत प्रचार भइरहेको बताए । “पानी नपरेको, गर्मी बढेको, अनि किसानहरूले एकैपटक बोरिङ चलाउँदा सञ्जालले लोड थेग्न सकेन । तर यो लोडसेडिङ होइन, प्राविधिक समस्या मात्र हो”, शाक्यले भनेका छन् ।
उनका अनुसार चितवनमा देखिएको विद्युत समस्या पुरानो र जीर्ण वितरण प्रणाली, साथै अत्यधिक लोडका कारण हो । “सिस्टम पहिल्यै अपग्रेड गर्नुपर्ने थियो, ढिलाइ भयो,” शाक्यले भने, “अब मंगलबार बेलुकासम्म समस्या समाधान हुन्छ । अहिलेको जस्तो अवस्था दोहोरिँदैन ।” लोडसेडिङको तालिका प्रकाशित गर्ने विषयमा उठेका प्रश्नमा शाक्यले भने, “कतिपय स्थानमा सवस्टेशनहरूमा घेराउ र दबाब दिँदा सूचना निकाल्नुपर्यो, त्यो लोड व्यवस्थापनका लागि थियो, न कि औपचारिक लोडसेडिङ ।”
शाक्यले किसानहरूलाई साँझ ५ देखि ९ बजेसम्म बोरिङ नचलाउन आग्रह गरिएको तर पालना नहुँदा समस्या गहिरिएको बताए । “तराईका धेरै जिल्लामा यस्तै भएको छ,” उनले जोडे । शाक्य आज चितवनको चनौली र हर्दी सवस्टेशनको निरीक्षणमा छन् । हर्दीमा जडान गरिएको २४ एमभीए क्षमताको ट्रान्सफर्मर सफलतापूर्वक परीक्षण भइसकेको छ, र भोलिसम्म वितरण सुरु हुने उनले जनाएका छन् । उनका अनुसार अब हर्दीबाट भण्डारा, पर्साको चैनपुर, टाँडी लगायत क्षेत्रमा नयाँ ट्रान्सफर्मरबाट सप्लाई गरी, भरतपुरको लोड घटाइनेछ ।
Post Comment