विमानस्थल अध्यागमनमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए
५ साउन, काठमाडौँ ।
गृह मन्त्रालयले ४५ जना शाखा अधिकृतलाई आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ । हालै लोकसेवा आयोग पास गरी आएका शाखा अधिकृतहरूलाई मन्त्रालयले विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको हो । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए । ‘लोकसेवाबाट आएका अधिकृतहरूलाई विभागले तीन दिने तालिम पश्चात आजदेखि विमानस्थल अध्यागमनमा खटाएको छ ।’ उनले भने– ‘अध्यागमन कार्यालयमा प्रमुखका रूपमा आएका सहसचिव घिमिरे पनि आजदेखि हाजिर भइसक्नुभएको छ ।’
त्यस्तै सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा अध्यागमन र भिजिट भिसा सम्बन्धमा देखिएका समस्या समाधान उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको छ । उक्त समितिलाई विदेश जाने आउने व्यक्तिको यात्रा सहजीकरण सम्बन्धमा अध्ययन विश्लेषण तथा तथ्यगत छानबिन गरी देखिने समस्या समाधान गर्न नीतिगत कानुनी एवं संरचनागत सुधारको तत्कालीन र दीर्घकालीन कार्ययोजना प्रश्तुत गर्ने लगायत कार्यादेश दिइएको छ । समिति अहिले कार्यादेश अनुसार काम गरिरहेको छ ।
Post Comment