१२ श्रावण २०८२, आईतवार

३३ करोडभन्दा बढी झ्वाम पार्ने एमडी संगीता पहाडीलाई २ लाख धरौटीमा रिहा

२५ असार, काठमाडौं ।

३३ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार आरोप लागेको नेपाल टेलिकमकी प्रबन्ध निर्देशक (एमडी) संगीता पहाडीलाई विशेष अदालतले दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले मंगलबार उक्त आदेश दिएको हो । अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार थुनछेक बहसपछि पहाडीलाई पुर्पक्षका लागि धरौटीमा रिहा गर्ने निर्णय गरिएको हो ।

नेपाल टेलिकमको बिलिङ प्रणाली सुधार गर्ने काममा ठेक्का प्रक्रियामा अनियमितता र मूल्यको कृत्रिम बढोत्तरी गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २८ गते पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारका अनुसार उक्त प्रकरणमा नेपाल टेलिकमलाई झण्डै ३३ करोड ४८ लाख रुपैयाँ बराबरको वित्तीय नोक्सानी पुगेको छ । यस मुद्दामा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलसमेत प्रतिवादी रहेका छन् । सम्बन्धित ठेक्का सन् २०११ (२०६८ पुस ६) मा नेपाल टेलिकम र चिनियाँ कम्पनी एसिया लिंकेज टेक्नोलोजिज इन्कबीच भएको सम्झौताअन्तर्गत भएको हो ।

सम्झौताको उद्देश्य टेलिकमको विद्युतीय बिलिङ प्रणालीलाई एकीकृत प्लेटफर्ममा रूपान्तरण गर्दै वास्तविक समयमै शुल्क गणना र अपडेट गर्न मिल्ने प्रणाली विकास गर्ने थियो । तर, अख्तियारले सो सम्झौता बदनियतपूर्वक गराइएको, प्रक्रियागत त्रुटि भएको र मूल्य अस्वाभाविक रूपमा निर्धारण गरिएको भन्दै भ्रष्टाचारको आरोप लगाएको छ । पाँच वर्षका लागि गरिएको उक्त सम्झौतामा हालसम्म ९ करोड ८८ लाख रुपैयाँ भुक्तान भइसकेको छ भने बाँकी २३ करोड ५९ लाख रुपैयाँको दायित्व नेपाल टेलिकममा सिर्जना भएको अख्तियारको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?