प्रधानमन्त्री ओलीको स्पेन भ्रमण असार १६ देखि १९ सम्म हुँदै छ भने अन्य विभिन्न मन्त्रीहरूको समेत विभिन्न देशको भ्रमण मन्त्रीपरिषद् बैठकले स्वीकृत गरिसकेको छ । प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रालयका मन्त्रीहरू विदेश भ्रमण गर्दा मुलुकको फजुल खर्चबाहेक अरू केही पनि नभएको उनले बताए । ‘प्रधानमन्त्रीको स्पेन भ्रमण फजुल खर्चबाहेक केही उपलब्धि हुँदैन । गत वर्ष पनि बाढी/पहिरो आउने बेलामा उहाँ विदेशमा सयर गर्दै हुनुहुन्थ्यो, अहिले फेरि विदेश सयरमा निस्किँदै हुनुहुन्छ । प्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमणको कुनै उपलब्धि हुँदैन, लावालस्कर लागेर यसरी हिँड्नु जनताको करको चरम दुरूपयोग हो,’ आजपा अध्यक्ष साहले भने, ‘युद्धरत देशमा फसेका आफ्ना नागरिक उद्धार गर्न भारत गुहार्नुपरेको छ, अनि हाम्रा यी चोर नेतालाई किन विदेश जान दिने ?’ गत बर्ष बाढीपहिरो हुँदा प्रधानमन्त्री ओली विदेश सयरमा रहेको र अहिले बाढीपहिरो सुरु हुँदै गर्दा नेपाली जनता पीडामा रहेको बेला पनि प्रधानमन्त्री विदेश गायब हुने कार्यक्रम भएको टिप्पणी उनले गरे । प्रधानमन्त्री ओलीलाई बालुवाटार, बालकोट र सिंहदरबारबाहेक केही थाहा नभएको बताउँदै उनले बाढीपहिरोका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा नेपाली जनता घण्टौँ सडकमा सास्ती खेपिरहेको बेला सरकारले त्यसलाई सहज गर्ने काम गर्नुपर्ने उनले बताए ।
बजेटको चरम दुरूपयोग गरिएको र जनताको करलाई नेताको भुँडी भराउने काम गरिएको समेत उनले बताए । सरकारपिच्छेको मनोमानी कर आतङ्कले नेपाली जनता, उद्योगी, व्यापारीको व्यापार व्यवसाय धराशायी बन्दै गइरहेको आजपा अध्यक्ष साहले बताए । कांग्रेस र एमालेको अहिलेको वर्तमान गठबन्धन अप्राकृतिक, असंवैधानिक र अलोकतान्त्रिक भएको बताउँदै उनले कोर्स करेक्सन गर्नुपर्ने बताए ।‘केपी ओलीजस्तो नाटककारलाई कांग्रेसले बोकिरहँदा देशले दुःख पायो । शेरबहादुर देउवाले तत्काल कोर्स करेक्सन गर्नुपर्छ । नेचुरल गठबन्धनमा जाँदा नै देशको हित हुन्छ । केपी ओली अहिले पनि विरोधीलाई तर्साउने खेलमा छन् । सकेसम्म सानालाई निल्ने उनको प्लान हो,’ आजपा अध्यक्ष साहले भने । ओली नेतृत्वको सरकार नेपाली जनताका लागि बोझ भएको टिप्पणी उनले गरे । अहिले आएर कांग्रेस र एमालेकै नेताकार्यकर्ताका लागि सरकार बोझ भइसकेको टिप्पणी उनले गरे । स्वार्थको गठजोडले गर्दा अहिलेसम्म टिकेको गठबन्धन अब विस्फोटन हुने बेला भइसकेको उनले बताए । ‘यो सरकार नेपाली जनताको लागि बोझ भएको थियो । अहिले त कांग्रेस र एमालेकै कार्यकर्ताहरूको लागि पनि ठुलो बोझ भएको छ । स्वार्थहरूको गठजोडले गर्दा अहिलेसम्म टिकेको हो, अब विस्फोटन हुने बेला भैसकेको छ ।

यो सरकार कुनै पनि मोर्चामा सफल छैन । न राष्ट्रिय राजनीति सङ्लो छ । न विदेश सम्बन्ध सन्तुलित छ । यो सरकारले जताततै भाँडभैलो र उपद्रो मच्चाएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘सरकारले अर्थतन्त्र धराशायी बनायो । देशभरि सडकहरूको कन्तबिजोग छ । तर, प्रधानमन्त्री वर्षौँदेखि थालिएको कामको ग्वार्को ओभरपासलाई ‘फ्लाईओभर’ भनेर रिबन काट्न जानुहुन्छ । यो नाटक बन्द गर्नुहोस् । राजमार्गमा दिउँसै बसहरू अलपत्र छन् । त्रिशूलीमा खसेका बस अहिलेसम्म अत्तोपत्तो छैन । दैनिक लाखौं जनता ओहोरदोहोर गर्ने राजमार्गहरूको हालत कस्तो छ ?’ यस्तै, आजपा अध्यक्ष साहले वीरगन्जबाट तीन जना नेता सङ्घीय सरकारमा भए पनि बजेटमा वीरगन्जले न्याय नपाएको बताए । वीरगन्जको नारायणी अस्पताललाई मेडिकल कलेज, ठाकुरराम क्याम्पसलाई विश्वविद्यालय, नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको स्मार्ट र स्तरीय रङ्गशाला र वीरगन्जलाई आर्थिक राजधानीको रूपमा सरकारले घोषणा गर्दै सोही अनुसार बजेट दिने विश्वास भए पनि त्यसो नभएकोमा उनले दुख व्यक्त गरे ।

‘वीरगन्जबाट तीन तीन जना सङ्घीय सरकारमा मन्त्री हुनुहुन्छ । मलाई विश्वास थियो बजेटले वीरगन्जलाई न्याय गर्छ । तर त्यसो भएन । वीरगन्जको नारायणी अस्पताललाई मेडिकल कलेज, ठाकुरराम क्याम्पसलाई विश्वविद्यालय, नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको स्मार्ट र स्तरीय रङ्गशाला र वीरगन्जलाई आर्थिक राजधानीको रूपमा सरकारले घोषणा गर्दै सोही अनुसार बजेट दिने विश्वास मलाई थियो । किनभने, यहाँबाट (वीरगन्ज) तीन जनता सङ्घीय सरकारमा मन्त्री हुनुहुन्छ,’ आजपा अध्यक्ष साहले भने, ‘तर कांग्रेसकै खेलकुद मन्त्री छ र कांग्रेसले यहाँ हस्ताक्षर अभियानको नाटक गरिरहेको छ । एक जना मन्त्रीले वीरगन्जमा आउँदा अर्बौँको बजेट ल्याएको भन्नुहुन्छ । तर जब काठमाडौँ पुग्नुहुन्छ अनि भन्नु हुन्छ वीरगन्जले बजेट नै पाएन । यो नाटक बन्द गर्नुस् तपाईँहरू ।’यस्तै उनले मधेसमा विद्यार्थी अनुपातमा विषयगत र तहगत शिक्षकको व्यवस्था हुनुपर्ने भए पनि सरकार मधेसका विद्यार्थीप्रति संवेदनशील नभएको बताए ।विद्यार्थीको अनुपातमा शिक्षक नभएको बताउँदै उनले सरकारले मधेसको शिक्षा प्रणाली नै ध्वस्त बनाउन खोजेको आरोप लगाए ।

Post Comment