छठ पर्व, एक भावना
सर्लाही। कृष्ण राउत
नेपालका तराई र भारतका उत्तरी क्षेत्र (बिहार, झारखण्ड, उत्तर प्रदेश) मा हिन्दूहरूले मनाउने एक महापर्व हो, छठ पर्व। विभीन्न कामकाज, पढाई, व्यापार का लागी गाँउ/घर बाहिर बस्ने ती सम्पूर्ण नेपाली हिन्दू, व्यपारी, विद्यार्थीहरू को घर फर्किने त्यो बहाना हो जसको लागि हर नेपाली/मधेशी वर्ष भरि कुरेर बसेका हुन्छन्। धोति, कुर्ता र गम्छा को पहिरन लगाई टाउकोमा पूजा सामग्री बोकेर पोखरीतिर सपरिवार पूजाआजा का लागि लाग्ने गर्छन्।
यस पर्वमा सूर्यदेव र षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, श्रीमान र सम्पूर्ण परिवारको कल्याणको कामना गर्ने गरिन्छ। यो पूजा एक चाँड मात्र होइन, एक भावना र उमङ्ग पनि हो, जुन विशेष गरी नेपालको तराई (मधेश) क्षेत्रमा श्रद्धा र भक्तिका साथ गरिन्छ। यस पर्वका अवसरमा पञ्चमीको दिनदेखि व्रत बस्ने पुरुष तथा महिलाले पवित्र जलाशयमा स्नान गरी साँझ दूध, चामल र गुँडको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।
परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ। हाम्रो मलंगवा लगायतका अन्य ठाउँमा भिन्न भिन्न धार्मिक र संस्कृतिक समुदायका व्यक्ति पनि सहभागी भई यो पर्व मनाउने गर्दछन् । शुद्ध मनले छठ पर्व मनाउँदा पारिवारिक सुख, सन्तानको सुख र मनोकामना पूरा हुने जनविश्वास छ ।
हिन्दू धर्मका धार्मिक ग्रंथहरूका अनुसार पृथ्वीमा पर्याप्त प्रकाश छरेको र कामना पूर्ण गरेकोमा सूर्यलाई धन्यवाद दिँदै वर्षमा कार्तिक शुक्ल षष्ठी र चैत षष्ठी गरी दुई पटक यो पर्व मनाइन्छ। सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको र कुन्ती, द्रौपदीलगायत पाण्डवहरूले चौध वर्षको वनवास र एक वर्षको वनवासमा यो व्रत गरेको महाभारतमा वर्णन गरिएको छ। राजा दशरथकी रानी कौशल्याले पनि त्रेतायुगमा यो व्रत गरेको बताइन्छ। कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ भने चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ।
छठको पहिलो दिन-कार्तिक शुक्ल चतुदर्शी
छठको शुरुवात मानिने यस दिनलाई ब्रतालुहरू नहान खान (नहाए खाए) भन्दछन् । बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई-धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । भनिन्छ यस दिनमा ब्रतालुहरूले प्रण गर्दछन्- म अव जथाभावी खाँदिन र तन मनले प्रभुको शरणमा बस्नेछु ।
छठको दोस्रो दिन-कार्तिक शुक्ल पञ्चमी
विधिवत रूपमा शुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ। यस दिनमा नुहाएर चोखो भई साँझपख ब्रतालुहरूले षष्ठी भगवती लाई प्रसाद भोग लगाई गुँड (मीठा) को खीर लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिनमा एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिन दिनभरि पानीसमेत नपिई निराहार ब्रतको पूर्वाभ्यास हो।
छठको तेस्रो दिन-कार्तिक शुक्ल षष्ठी
छठको तेस्रो दिन अर्थात छठ पर्व । यस दिनमा ब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् । साँझपख नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा आधी (कम्मर सम्म) डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू (उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा) घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन्। विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले भजन कीर्तन गर्ने, नाच नाच्ने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् । सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले मानवशरीर विज्ञानका अनुसार यो व्रतको महत्त्व आज पनि त्यत्तिकै छ। प्रातःकालीन अर्घका लागि केही ब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् ।घाटलाई बेहुली झै सिंगारिएकॊ यो मनोरम दृश्य आँखा अगाडि सधैं भरी रहिरहोस भन्ने झै लाग्छ ।
छठको चौथो दिन-कार्तिक शुक्ल सप्तमी
रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । विहानीमा सूर्यको न्यानो किरणसँगै ब्रतालुहरूले अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा, भुसुवा, फलफुल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्दछन् । घरको शान्ति र समृद्धिको कामना गर्दै श्रद्धालुहरू घरतिर लागि सूर्यको प्रसाद ग्रहण गरी ब्रत खोल्ने गर्दछन।
बिभिन्न चाडपर्वले भरिभराउ रहने हिन्दुहरुको क्यालेण्डरमा केही दिनका लागि आउने यस महापर्वलाई कसैले अरु पर्व झै ठाने पनि नेपालका तराई भेगका बासिन्दाहरु का लागि यसको महत्तव अतुलनिय रहेकाे छ।