२६ जेष्ठ २०८२, आईतवार

एकीकृत समाजवादी हाँक्ने जिम्मा राजेन्द्र पाण्डेलाई दिइँदै

२४ जेठ, काठमाडौं ।

उड्नका लागि वेगले दौडिरहेको विमानमा झ्याप्प ब्रेक लगाउनुपरे के होला? त्यो विमानले फेरि सोही गति समात्न कति समय लाग्ला? नेकपा एकीकृत समाजवादी पार्टी यतिबेला यही द्विविधामा देखिन्छ।  एमाले फुटाएर माधवकुमार नेपाल–झलनाथ खनालले स्थापना गरेको यो पार्टीले तीन वर्षको अवधिमा संगठनलाई देशव्यापी बनाएको थियो। तर, अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लागेपछि एकीकृत समाजवादीको गति ठप्प भएको छ। मुद्दा लागेपछि अब उनले अध्यक्ष र संसदीय दलको नेताको पद छोड्नुपर्नेछ।

किनकि, मुद्दा दायरसँगै सांसदबाट निलम्बित भइसकेका उनले सार्वजनिक पदमा समेत रहन पाउने छैनन्।  यद्यपि, उनलाई पार्टी काममा सक्रिय हुन, संगठन गर्न, कार्यकर्ताले बोलाएका ठाउँमा भेटघाट गर्न र राजनीतिक विचार दिन कसैले छेक्न सक्दैन। तर, उनको राजनीतिक भूमिका भने हुने छैन। १६ वर्षअघि पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिएर त्यसको दुई महिनामै फेरि बेच्न निर्णय गराएर आर्थिक अपचलन गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको छ। यसले एकीकृत समाजवादीको पार्टी जीवनमा निकै ठूलो असर गर्ने नेताहरू बताउँछन्। अब एकीकृत समाजवादीले पार्टीको नियमित काम/काबाहीका लागि कार्यवाहक तोक्नुपर्ने हुन्छ। दलको नेता पनि बनाउनुपर्ने हुन्छ।

२१ सदस्यीय पदाधिकारीभित्रै रहेका नेतामध्ये कुनै एकले कार्यवाहकको जिम्मेवारी पाउनेछन्। राष्ट्रिय सभाका ८ समेत १७ जना सांसदबाट दलको नेता तोक्नुपर्नेछ। त्यसो हुँदा एकीकृत समाजवादीको कार्यवाहक अध्यक्ष र दलको नेता को बन्ला भनेर पार्टीभित्र चर्चा सुरु भइसकेको छ। ६९ वर्षका पाण्डेलाई मौका अब पार्टीको कार्यवाहक अध्यक्ष र दलको नेतागरी दुवै जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पाउने सो पार्टीका नेताहरू बताउँछन्। संसदीय राजनीतिमा लामो अनुभव भएको, स्थानीय विकासमन्त्री, मुख्यमन्त्री भएर राज्य सञ्चालन अनुभव लिएको, माधव नेपालसँगको निकट रहेको र पार्टी कमिटीको जिम्मेवारी लगायतले पनि उनैले यी जिम्मेवारी पाउने उनीहरूको भनाइ छ। उसो त विदेश भ्रमणमा जाँदा नेपालले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाण्डेलाई नै दिँदै आएका छन्।

‘कार्यवाहक अध्यक्ष राजेन्द्र कमरेडले नै पाउनुहुन्छ। एक त वरिष्ठ उपाध्यक्ष, अर्काे यतिन्जेलसम्म नेपाल बाहिर जाँदा कार्यवाहक अध्यक्ष भएर चलाइसक्नु भएको छ,’ एक पदाधिकारीले नेपालखबरसँग भने, ‘माधव कमरेडले पछिल्ला दिन अलि विश्वास पनि गर्नुभएको छ।’ उनले वैशाखको अन्तिमतिर नै नेपालले आफूमाथि अख्तियारले चाल्ने कदमबारे आशंका गर्दै पार्टी हाँक्ने जिम्मा पाण्डेलाई दिने संकेत गरिसकेको दाबी गरे। भिजिट भिसा प्रकरणमा नाम मुछिएपछि गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दलसहित विपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गरिरहेका छन्। विपक्षी दलबीच हुने सबै बैठकमा पाण्डे सहभागी हुँदै आएका छन्। ‘अस्वाभाविक प्रक्रियामा मात्र अर्काेतिर जाने हो। नत्र, वरिष्ठ उपाध्यक्ष हुँदाहुँदै अन्यत्र नजाला,’ उनले भने। यसबारे निर्णय गर्न केही दिनमै सचिवालय बैठक बस्ने उनी बताउँछन्। ‘अब केही दिनमा सचिवालय बैठक बस्छ, त्यहाँ माधव कमरेडले के भन्नुहुन्छ, सिंगो पार्टी पंक्तिले के भन्छ, त्यसका आधारमा निर्णय गर्ने हो,’ ती पदाधिकारी भन्छन्, ‘मुद्दामा के–के मागदाबी छ। अदालतको कागज हेरेर त्यसको आधारमा चारपाँच दिनमा गरिसक्छौँ।’

संकटको घडी भएकाले आगमी नेतृत्वबारे कुनै पनि नेताले कुनै प्रस्ताव अघि नसारेको उपाध्यक्ष जगन्नाथ खतिवडा बताउँछन्। ‘माधव कमरेडकै मुखबाट यो प्रस्ताव आउँछ भनेर अहिले हामी सचिवालय बैठककै प्रतिक्षामा छौँ,’ खतिवडाले भने, ‘उहाँले यसरी जाऊँ भन्नुभयो भने हामीलाई बोल्न सजिलो हुन्छ। अहिलेको सेन्टिमेन्टमा, चित्त दुखिराखेको बेलामा, विरोधीले आक्रमण गरेको समय हेक्का राख्नुपर्छ।’ धादिङका पाण्डे ६९ वर्षका भए। अध्यक्ष नेपालभन्दा ४ वर्ष मात्र कान्छा। २०४८ सालदेखि संसद् भवन छिरेका उनले नेपाललाई अहिलेसम्म साथ दिइरहेका छन्।  २०४८, २०५१, २०५६, २०७० र २०७९ मा धादिङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। २०७४ को निर्वाचनमा भने उनी मुख्यमन्त्री बन्ने उद्देश्यले प्रदेश झरे। धादिङ–१ (१) बाट प्रदेश सभामा जिते पनि। तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई मुख्यमन्त्री बनाएनन्। बरु आफूनिकट डोरमणि पौडेललाई बनाए। एमाले विभाजन भएर एकीकृत समाजवादी बनाउँदा नेपाललाई बलियो साथ दिनेमा पाण्डे पनि एक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment