केबलकार प्रयोगकर्ताको प्रतिटिकट ३ रुपैयाँ मन्दिरले पाउने गरेको छ । केबलकारबाट समेत मन्दिरको कूल आम्दानी वार्षिक १ करोड ९२ लाख रहेको अध्यक्ष सापकोटाले जानकारी दिए । केबलकारले मन्दिरको मात्र नभई स्थानीय गैंडाकोट नगरपालिकाको समेत राजश्व बढेको छ । केबलकारले २०८० सालमा २१ लाख ९० हजार र २०८१ सालमा २० लाख ११ हजार राजश्व बुझाएको नगरपालिकाको तथ्यांक छ ।केबलकारको टिकट नेपालीलाई ६७५, सार्क देशकालाई १ हजार नेपाली रुपैयाँ र तेस्रो देशका विदेशीलाई १५ डलर लिने गरिएको छ । ७वर्षभन्दा तल र ८० वर्ष माथिका वृद्धवृद्धालाई टिकट निःशुल्क गरिएको छ । टिकटमा विद्यार्थीलाई २५ प्रतिशत र स्थानीयलाई ४० प्रतिशत, ७० देखि ७९ बर्षका भक्तजनलाई २५ प्रतिशत छुट दिने गरिएको छ । २४ देशका नागरिक पनि पुगे मौलाकालिका मौलाकाली केबलकारका स्टेशन इन्चार्ज सुरज पौडेलले केबलकार बनेपछि मौलाकालिका मन्दिरको समेत थप प्रचारप्रसार भएको बताए । उनका अनुसार ६५ जिल्लाका भक्तजनहरू मन्दिरमा दर्शनका लागि पुगेका छन् । विभिन्न २४ देशका नागरिक पनि केबलकार हुँदै मन्दिर पुगेको देखिएको मौलाकाली केबलकारका स्टेशन इन्चार्ज पौडेलले बताए ।

हिँडेर जान नसक्ने अशक्त, अपाङ्ग र वृद्धवृद्धाहरू केबलकारबाट मन्दिरको दर्शन गर्न जान सक्ने भएका छन् । १ सय वर्षभन्दा माथिका वृद्धवृद्धाहरू पनि केबलकार चढेर मन्दिर पुगेको स्टेशन इन्चार्ज पौडेलले बताए । केबलकार बनेपछि मन्दिरको दर्शनका अलावा घुमघाम र रमाइलो गर्नका लागि पनि साथी–साथी मिलेर जाने गरेको पाइएको उनले बताए । २०८० वैशाख १८ गतेबाट औपचारिक रुपमा सुरु भएको केबलकारमा सो वर्ष २ लाख ७० हजार र २०८१ मा २ लाख ३५ हजारले केबलकारको यात्रा गरेको तथ्यांक छ । पहिले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म चल्ने केबलकार आइएमई ग्रुपले मौलाकालिका मन्दिरको केही तल केबलकारको टप स्टेशनमा होटल इला सञ्चालन गरेपछि राति १० बजेसम्म चलाउन थालिएको छ । सो होटलको गत वैशाख २९ गते उद्घाटन गरिएको थियो ।करिब १,२०० मिटर लम्बाइको केबलकारमा १४ वटा गोण्डोला रहेका छन् । फेदिबाट केबलकार चढेपछि ५ मिनेटमा मन्दिर नजिकै रहेको टप स्टेशनसम्म पुग्न सकिन्छ । केबलकार सञ्चालनमा आएपछि ४५ जनाले रोजगारी पनि पाएको स्टेशन इन्चार्ज पौडेलले बताए । मन्दिरमा गुरुकुल सञ्चालन

मौलाकालिका मन्दिर परिसरमा नै व्यवस्थापन समितिले मौलाकालिका संस्कृत विद्यापिठ (गुरुकुल) सञ्चालन गर्दै आएको छ । विगत ४ वर्षदेखि सञ्चालनमा आएको गुरुकुलमा ५५ जना विद्यार्थीहरू छन् । कक्षा ६ देखि १० सम्म पढाइ हुने गुरुकुलमा मासिक १२ लाख रुपैयाँ खर्च हुने अध्यक्ष सापकोटाले बताए । तर सरकारले सरकारले वार्षिक ५ लाख रुपैयाँ मात्र दिने गरेको छ । बाँकी अपुग रकम मन्दिरकै आम्दानीबाट व्यहोरिएको छ । गुरुकुलमा शिक्षकसहित तलब खाने २४ जना छन् । गुरुकुलमा टाढाटाढाबाट आउने र बास बस्न चाहने व्यक्तिहरुका लागि आवासको सुविधा पनि छ । मन्दिरमा एक रातमा ८० जनासम्म बस्न सक्ने सुविधा रहेको अध्यक्ष सापकोटाले बताए । एक छाकमा दैनिक ८५ देखि १ सय जनासम्मले खाना खाने गर्दछन् । शनिवारको दिनमा ३ सय जतिले खाना खान्छन् । पैसा नहुनेलाई निःशुल्क खाना दिने गरिन्छ । पैसा हुनेले आफूखुसी तिरेर जाने गर्दछन् । बस्ने आउनेमध्ये २५ प्रतिशतले निःशुल्क भोजन गर्ने र ७५ प्रतिशतले रकम सहयोग गर्ने गरेको अध्यक्ष सापकोटाले बताए । गुरुकुलका विद्यार्थी र रात बस्न आउनेहरुलाई दूध खुवाउन १० वटा गाई पालिएको छ । मन्दिरलाई नयाँ स्वरुप दिने तयारी

मौलाकालिका मन्दिरको इतिहास साढे चार सय वर्ष पुरानो छ । मौलाकालिका मन्दिर ४५० वर्ष पहिले सेन राज्यको पालामा निर्माण भएको विश्वास गरिन्छ । सोह्रौँ शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनले देवी कालिकाको नाममा प्रतीकात्मक प्रस्तुतिस्थल सिर्जना गरेपछि पर्वत (मौला पहाड) को नाम राखिएको किंवदन्ती छ । मन्दिरको अहिलेको स्वरुप केही फेर्ने मन्दिर व्यवस्थापन समितिको तयारी छ । मन्दिरमा अहिले भएको सिमेन्ट संरचना नदेखिने गरी परम्परागत शैलीको देखिने बनाइने अध्यक्ष सापकोटाले बताए । मन्दिरमा तामाको छानो हाल्ने र टुडाँलहरु फेर्ने काम पनि गरिने छ । मन्दिरको फेँदीमा १ करोडको लागतमा धर्मशाला बनाउने, १ करोडको लागतमा ढुंगा विछ्याउने तथा १ करोडको लागतमा परिक्रमा मार्गसम्म जाने पहुँच मार्गमा ढुंगा लगाउने काम भैरहेको छ । केबलकारको टपस्टेसनबाट मन्दिरसम्म पोडवे वा मोनोरेल चलाउने योजना मन्दिर व्यवस्थापन समितिले आगामी आर्थिक वर्ष सांस्कृतिक तथा पुरातात्विक संग्रहाललय बनाउने योजना समेत बनाएको छ । कतिपय भक्तजनहरु केबलकारको टप स्टेशनबाट मन्दिरसम्म जान पनि नसक्ने अवस्थालाई मध्यनजर गरेर ३ सय मिटर लामो पोडवे वा मोनोरेल जस्तो केही संरचना तयार गर्ने बारेमा पनि छलफल अगाडि बढेको अध्यक्ष सापकोटाले जानकारी दिए ।समुद्र सतहदेखि ५६१ मिटर उचाइमा रहेको यस मन्दिरबाट पवित्र देवघाटधामका साथै सुन्दर हिमालका दृश्यहरु देखिन्छ । दक्षिणमा चितवन उपत्यका आकर्षक देखिन्छ ।




प्रतिक्रिया