१० श्रावण २०८२, शुक्रबार

गृहमन्त्रीले दिए तत्काल राहत सामग्री उपलब्ध गराउन निर्देशन

६ जेठ, काठमाडौं ।

हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका –६ तिलगाउँमा हिमताल फुटेर जेठ १ गते राति साढे १० बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म लगातार गएको लेदोसहितको पहिरोले स्थानीयहरू विस्थापित भएका छन् । समुद्री सतहदेखि ३ हजार ९४९.३४ मिटरको उचाइमा रहेको तिलगाउँमा एकै ठाउँमा गुजुमुज्ज भएका घरहरू खाली राखेर स्थानीयहरू ४ दिनदेखि त्रिपालमुनि बस्न बाध्य भएका छन् । उक्त क्षेत्रमा ३२ जना विस्थापित भएको बताइएको छ ।
हिमताल फुटेर लेदोसहितको बाढीले तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको छ भने सोनाम साङमु लामाको घरको छतमा प्वाल परेको छ । त्यस्तै छे बुटी लामाको घर चर्किएको छ भने धर्मशाला भत्किएको छ, १५ किलोवाटको जलविद्युत् भवन, मेसिन र कुलोमा समेत क्षति पुगेको छ ।

यसैबीच गृहमन्त्री रमेश लेखकले तिलगाउँमा पहिरोबाट विस्थापितहरूलाई तत्काल राहत सामग्री उपलब्ध गराउन निर्देशन दिनुभएको छ । सोमबार गृह मन्त्रालयमा बसेको बैठकले पहिरोबाट विस्थापितहरूलाई हेलिकोप्टरबाट तत्काल त्रिपाल र खाद्यान्नलगायतका राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएको हो । साथै बैठकले पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययनका लागि प्राविधिक टोलीसमेत पठाउन निर्देशन दिएको छ । बैठकले राहत तथा स्थलगत अध्ययनका लागि कर्णाली प्रदेश सरकारसित आवश्यक समन्वय गर्न मातहतका निकायलाई निर्देशन पनि दिएको छ ।

यसअघि जेठ २ गते बिहान १० बजेतिर सशस्त्रको बीओपी हिल्साबाट वरिष्ठ हवल्दार लोकबहादुर बुढाको कमान्डमा ७ जना र इलाका प्रहरी कार्यालयबाट प्रहरी हवल्दारको कमान्डमा ६ जना गरी १३ जनाको टोली उद्धारका लागि खटिएका थिए । रातिमात्रै घटनास्थलमा पुगेको उक्त टोली भोलिपल्ट अर्थात आइतबार बिहान केवल क्षतिको विवरण मात्र संकलन गरेर फर्किएको थियो । हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार अग्लो ठाउँमा पुगेपछि उक्त टोलीका सदस्यहरूलाई स्वास्थ्य समस्या भएर पहिरो पीडितहरूको उद्धारमा जुट्न नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?