थाइल्याण्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल
६ जेठ, काठमाडौं ।
आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै छ । अहिले विहान पौने ९ बजेदेखि तेरथाइ क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरिन् । नेपाल र थाइल्याण्ड दुवैले ग्लोबल छनोटमा स्थान पक्का गरिसकेका छन् । आजको खेलको विजेताले एसिया छनोटको उपाधि जित्ने छ । सोमबार भएको खेलमा नेपालले यूएईलाई हराउँदै पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो ।
त्यसअघि आइतबार थाइल्याण्डले यूएईलाई हराएर अघिल्लो चरणमा पुग्ने पक्का भएको थियो । थाइल्याण्ड हालसम्म यस प्रतियोगितामा अपराजित छ । समूह चरणमा २ जित निकाल्दा २ रद्द भएको थियो भने सुपर थ्री मा यूएईलाई हराएको थियो । नेपालकी कप्तान इन्दु बर्माले थाइल्याण्डलाई हराएर एसिया छनोटको उपाधि नै जितेर फर्कने लक्ष्य राखेको बताइन् ।‘अब हामीलाई हार्नका लागि केही पनि छैन त्यसकारण त्यही हिसाबले पोजिटिभ खेल खेल्ने छौं’ उनले भनिन् ।
नेपालले समूह चरणमा बहराइनलाई दुवै खेलमा हराउँदा हङकङसँग पराजित भएको थियो भने हङकङको नेपालसँग १ र बहराइनसँग दुवै खेल वर्षाले प्रभावित हुँदा नेपाल बढी जितसहित अगाडि बढेको थियो । महिला टी-२०आईमा नेपालले थाइल्याण्डलाई हालसम्म हराउन सकेको छैन ।
Post Comment