१२ श्रावण २०८२, आईतवार

मेक्सिकन नौसेनाको जहाज दुर्घटनामा २ जनाको मृत्यु, १९ जना घाइते

 

४ जेठ, काठमाडौं ।

मेक्सिकन नौसेनाको एक जहाज न्युयोर्क शहरस्थित ब्रुकलिन पुलमा ठोक्किंदा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अन्य  १९ जना घाइते भएको बीबीसीले जनाएको छ । जहाज एक विशेष समारोहका लागि जाँदै थियो । शनिबार साँझ उक्त जहाज पुलमुनिबाट जाँदै गर्दा मुस्तल (जहाजको माथि राखिने विशाल खम्बा) ठोक्किएर दुर्घटना भएको हो ।

मुस्तलका टुक्रा जहाजमाथि नै खसेका थिए । त्यस क्रममा मानवीय क्षति भएको हो । जहाजमा २७७ जना सवार थिए । अन्य सेना भने सकुशल रहेका छन् । न्युयोर्क प्रहरीका अनुसार इन्जिनमा आएको समस्या र विद्युत अवरोधका कारण जहाज अनियन्त्रित भएको थियो । जहाजका तीनवटा मुस्तल भाँचिएका छन् । र, ती मुस्तलबाट नौसैनिकहरू खसेको भिडियोहरूमा देखिएको छ । न्युयोर्कका मेयर एरिक एडम्सले पनि दुर्घटनामा मानवीय क्षति भएको पुष्टि गरेका छन् । उनले एक्समा उल्लेख गरे अनुसार २ जनाको मृत्यु र १९ जना घाइते हुनुबाहेक अन्य कुनै पनि व्यक्ति हराएका छैनन् ।

घटनापछि केही समयका लागि बन्द गरिएको ब्रुकलिन पुल प्रारम्भिक परीक्षण गरी पुन: सञ्चालनमा ल्याइएको छ । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले दुई जना चालक दलका सदस्यको मृत्युले आफू दुःखी भएको बताएकी छन् । दुर्घटनापछि जहाजलाई उक्त स्थानबाट हटाइएको छ। मेक्सिकन नौसेनाका अनुसार सन् १९८२ मा निर्माण भएको यो जहाज ९१ मिटर लामो र १२ मिटर चौडाइको छ । नौसैनिक प्रशिक्षण पूरा गर्न प्रत्येक वर्ष यो जहाज क्याडेटहरू लिएर यात्रामा निस्कन्छ । प्रहरीका अनुसार जहाजको मुस्तलको उचाइ ४८.२ मिटर थियो, जबकि ब्रुकलिन पुलको बीच भागको उचाइ ४१.१ मिटर (१३५ फिट) मात्रै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?