कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा
२९ वैशाख, काठमाडौं ।
भारतीय क्रिकेट टोलीका अनुभवी ब्याट्सम्यान तथा पूर्व कप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। १४ वर्ष लामो शानदार टेस्ट करियरलाई बिट मार्दै उनले आज सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका जानकारी दिएका हुन् । १२३ टेस्ट खेलेका कोहलीले ६८ खेलमा कप्तानी गर्दै ४६.८५ को औसतमा ९२३० रन बनाएका छन्। आफ्नो भावुक सन्देशमा कोहलीले टेस्ट क्रिकेटले आफूलाई धेरै सिकाएको र यो प्रारूपसँग आफ्नो गहिरो सम्बन्ध रहेको बताएका छन्।
उनले भनेका छन्, “सेतो जर्सीमा खेल्नुको आफ्नै महत्व छ। शान्त मिहिनेत, लामो दिनहरू, साना क्षणहरू जुन कसैले देख्दैन तर सधैं तपाईंसँग रहन्छ।” उनले यो निर्णय सहज नभएको तर सही महसुस भएको बताए। रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएसँगै उनले पनि याे निर्णय लिएका हुन् । कोहलीले सन् २०११ मा वेस्ट इन्डिजको भ्रमणमा टेस्टमा डेब्यु गरेका थिए। किङ्स्टनमा पहिलो खेलमा ४ र १५ रन बनाएका उनले त्यस भ्रमणका पाँच इनिङमा जम्मा ७६ रन मात्र जोडेका थिए । तर, त्यसै वर्ष मुम्बईको वानखेडे स्टेडियममा वेस्ट इन्डिजविरुद्ध उनले ५२ र ६३ रनको पारी खेलेर आफ्नो क्षमताको झलक देखाएका थिए। त्यसपछिको अस्ट्रेलिया भ्रमण भारतका लागि खराब रह्यो (भारत ४-० ले पराजित भएको थियो), तर कोहलीले एडिलेड टेस्टमा आफ्नो पहिलो शतक बनाएर श्रृंखलाको अन्त्य सुखद बनाएका थिए।
कोहलीको पहिलो ठूलो टेस्ट श्रृंखला २०१४-१५ मा अस्ट्रेलियामा थियो, जहाँ उनले एडिलेडमा दुई शतक बनाए र मेलबर्न र सिड्नीमा पनि शतक बनाएर श्रृंखलामा ८६.५० को औसतमा ६९२ रन बनाएका थिए । त्यतिबेला उनी भारतीय टेस्ट टोलीको उपकप्तान पनि थिए । एमएस धोनी कप्तान थिए, तर औंलाको चोटका कारण पहिलो टेस्ट खेल्न पाएनन्, जसले गर्दा कोहलीले कप्तानीको जिम्मेवारी पाएका थिए ।कोहलीको कप्तानीमा भारतले ६८ खेलमध्ये ४० मा जित हासिल गर्यो भने १७ मा मात्र हार बेहोरेको थियो। ४० जितका साथ कोहली भारतका सबैभन्दा सफल टेस्ट कप्तान बनेका छन्। धोनीले ६० खेलमा २७ र सौरव गांगुलीले ४९ खेलमा २१ जित हासिल गरेका थिए।

Post Comment