काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा
१४ वैशाख, काठमाडौं ।
अहिले काठमाडौं उपत्यकासहित पहाड र तराईंका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । पश्चिमी तथा स्थानीय वायु तथा बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली बाहेक सबै प्रदेशका तराई क्षेत्रका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भएको हो ।
कर्णालीसहित सबै प्रदेशका पहाडी केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ । हिमाली भू-भागका थोरै स्थानमा पनि अहिले कालो बादल लाग्नुका साथै हल्का वर्षा र हिमपात भएको छ । मौसमविद गोविन्द झाका अनुसार, लगातार पानी नपरेपनि यो क्रम दुई तीन दिनसम्म जारी रहनेछ । आज राति पनि काठमाडौं उपत्यकासहितका स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताउँदै झाले पछिल्लो केहीदिन बढेको गर्मीका कारण बङ्गालको खाडिबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले पानी परेको जानकारी दिए ।
आज राती कोशी र मधेश प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको झाले बताए । पछिल्लो २४ घण्टामा काठमाडौंमा ८.४ मिलिमिटर वर्षा भएको । पाल्पा, धादिङलगायतका क्षेत्रमा पनि ८ मिलिटिरभन्दा बढी पानी परेको मौसमविद झाको भनाइ छ ।
Post Comment