छलफलमा जुट्दै सभामुख र प्रमुख सचेतकहरू
१० वैशाख, काठमाडौं ।
सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतकहरू छलफलमा जुट्दैछन् । उनीहरुबीच प्रतिनिधि सभाको क्यालेन्डर, वैशाख १२ गतेदेखि सुरु हुने संसदको वर्षे अधिवेशन लगायतका विषयमा आज बिहान ११ बजे छलफल हुन लागेको हो । संघीय संसदको वर्षे अधिवेशन आगामी शुक्रबारबाट सुरु हुँदैछ । बजेट अधिवेशनका रुपमा लिइने अधिवेशनमा बजेट आउनुभन्दा अगाडि संसद्मा गरिने कार्यलाई व्यवस्थित गर्नुपर्ने हुन्छ ।
नीति तथा कार्यक्रम र प्रिबजेट छलफल भएपछि मात्रै संसद्मा बजेट प्रस्तुत हुन्छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेट आउनुभन्दा १५ दिन अगाडि प्रिबजेट छलफल सकाउनुपर्ने कानुनी व्यवस्था छ । सरकारले प्रिबजेट छलफल अगाडि नै नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । यी लगायतका कार्यका साथमा केही महत्वपूर्ण विधेयक समेत अगाडि बढाउने तयारी छ । विद्यालय शिक्षा विधेयक, संघीय निजामती सेवा विधेयक वर्षे अधिवेशनमै पास गर्नुपर्ने सरोकारवालाहरूको माग छ । यसबाहेक अन्य विधेयकहरू समेत संसदीय प्रक्रियामा छन् । यी विषयमा छलफल गर्न सभामुख र प्रमुख सचेतकहरू छलफलमा जुट्न लागेका हुन् ।
Post Comment