सर्लाहीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु, अर्की बहिनी घाइते
२९ चैत, सर्लाही ।
हरिपुर्वा नगरपालिका–९, मिर्चैया बजारस्थित बाँके–संग्रामपुर सडकखण्डमा आज बिहान भएको एक दर्दनाक सवारी दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ भने अर्की घाइते भएकी छन्।
आज बिहान करिब ९:१५ बजे श्रीनगरबाट धनकौलतर्फ गइरहेको ना.५ ख ३८५८ नम्बरको खाली ट्रकले विपरीत दिशाबाट साइकलमा आइरहेकी ईश्वरपुर नगरपालिका–१३, श्रीनगर निवासी रामदुलार महतोकी १७ वर्षीया छोरी अञ्जली कुमारी महतोको ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। सोही साइकलमा पछाडि सवार उनकी १५ वर्षीया बहिनी पूजा कुमारी महतो सामान्य घाइते भएकी छिन्। हाल उनको उपचार स्थानीय श्रीनगर मेडिकलमा भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गौरीशंकर, सर्लाहीबाट प्रमुख प्रहरी नायब निरीक्षक श्यामसुन्दर साहको कमाण्डमा ४
जनाको टोली र इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा थप १७ जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा संलग्न ट्रकका चालक हरिवन नगरपालिका–१०, ताइवान टोल निवासी ३१ वर्षीय लक्ष्मण बि.क.लाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक समेत इलाका प्रहरी कार्यालय केशरगंजको नियन्त्रणमा राखिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार चालकले मादक पदार्थ सेवन नगरेको पुष्टि भएको छ र ट्रकका सबै कानुनी कागजातहरू साथमा रहेको जनाइएको छ। घटनापछि कानुनी प्रक्रिया पूरा गरी बिहान १०:१५ बजे मुचुल्का तयार पारिएको र मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा, सर्लाही पठाइएको प्रहरी स्रोतले जनाएको छ।
Post Comment