२६ जेष्ठ २०८२, आईतवार

सीमा अपराध नियन्त्रण गर्न दुई देश सहमत

२६ चैत, सर्लाही ।

नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठकमा सीमा अपराध नियन्त्रण तथा अन्य विविध विषयमा छलफल भएको छ । भारत बिहार प्रान्तको सीतामढीमा सोमबार दुई देशका सुरक्षा पदाधिकारीहरु बिच बैठक बसेको हो । संयुक्त बैठकमा दुवै देशका सुरक्षा अधिकारीहरु सीमा क्षेत्रमा हुने चोरीका सवारी साधनको अवैध पैठारी, मानव बेचबिखन, लागुऔषध ओसारपसार जस्ता अवैध व्यापार र जाली नोटको कारोबार रोक्न सहमत भएको छ । बैठकमा सीमा सुरक्षा र अपराध नियन्त्रण, मानव बेचबिखन, मदिरा तथा लागू औषध ओसारपोसार, अवैध मुद्राको कारोबार नियन्त्रण विषयमा आपसी सहयोग र समन्वयका लागि छलफल भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले  जानकारी दिए।

जघन्य अपराध गरी एक अर्को देशमा लुकेर बसेका अपराधीका बारेमा सूचना आदानप्रदान गर्न, अवैध हातहतियारको कारोबारलाई नियन्त्रण गर्न र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न दुवै देशका सुरक्षाकर्मी सक्रिय रहने सहमति भएको उनले उल्लेख गरेका छन् । संयुक्त बैठकमा नेपाल तर्फबाट रौतहट, सर्लाही र महोत्तरीका जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक, भन्सार कार्यालयका प्रमुखहरुका साथै भारतको तर्फबाट सीतामढी जिल्लाका मुख्य जिल्ला अधिकारीहरुको नेतृत्वमा पुलिस अधीक्षक, भन्सार प्रमुख तथा एसएसबीका अधिकारीहरु, लागू औषध नियन्त्रण अधिकारी लगायतकाहरुको सहभागिता रहेको थियो ।

उक्त बैठकमा दुबै देशका सुरक्षासंग जोडिएका विषयमा छलफल एवंम समन्वयका आधारमा कार्यहरु अघि बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यलय सर्लाहीले  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment