राजावादीको हिंस्रक प्रदर्शनप्रति रास्वपाको आपत्ति, घटनाका दोषीलाई कारबाहीको माग
१६ चैत, काठमाडौँ —
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठकले काठमाडौंको तिनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा शुक्रबार घटेको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
शनिबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो । यसैगरी बैठकमा पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने निर्णय भएको छ । दुर्गा प्रसाईं र नवराज सुवेदीलगायतले नेतृत्व गरेको राजावादीहरूको समूहले शुक्रबार काठमाडौंका तीनकुने, कोटेश्वर, जडिबुटीलगायतका क्षेत्रमा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए । सो क्रममा एकजना प्रदर्शनकारीको मृत्यु भएको छ भने एक जना पत्रकारको रिपोर्टिङकै क्रममा मृत्यु भएको छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारको गाडी समेत प्रदर्शनकारीले जलाएका थिए ।
Post Comment