सिरहाका एसपीपछि लहानका डीएसपी पनि हेडक्वार्टर तानिए
१३ चैत, काठमाडौं ।
इलाका प्रहरी कार्यालय लहानका, सिरहाका प्रमुख तथा डीएसपी वीरेन्द्र पासवानको जिम्मेवारी खोसिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दिनेश आचार्यले डीएसपी पासवानलाई हेडक्वार्टर झिकाइएको पुष्टि गरे । यद्यपी किन हेडक्वार्टर तानिएको भन्नेबारे उनले केही बताउन चाहेनन् । बुधबार प्रहरी प्रधान कार्यालयले उनको जिम्मेवारी खोस्दै हेडक्वाटर तानेको हो ।
उनी करिब दुई महिनाअघि मात्रै लहानको कमाण्ड गर्न पुगेका थिए । यसअघि सोमबार मात्रै प्रहरी हेडक्वार्टरले सिरहाका एसपी रमेश पण्डितको पनि जिम्मेवारी खोसेको थियो । उनको ठाउँमा अर्का एसपी अनन्तराम शर्मालाई पठाइएको छ । यसअघि सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको पनि जिम्मेवारी खोस्दै गृह मन्त्रालय तानिएको थियो ।
पछिल्लो समय सिरहामा महायज्ञको नाममा दलितको घर नै भत्काइएकोदेखि रिंकु कुमारी सदायको मृत्यु रहस्यमय मृत्यु प्रकरण निकै विवादित बनेका थिए ।
Post Comment