अहिले उनीहरु पुर्पक्षका लागि थुनामा रहेको एसपी श्यामबाबु ओलियाले जानकारी दिए । अहिले शर्माले पसल दुई दिनअघिदेखि बन्द रहेको, कामदारहरू बिदामा रहेको र आगलागीको कारणबारे खुलाएको तथ्यमाथि आशंका भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । कामदार बिदामा रहेको अवस्थामा रमेश आफैंले आगो लगाएको पाइएको कास्की प्रहरी प्रमुख एसपी ओलियाले जानकारी दिए । गत माघ महिनामा इन्सुरेन्स गराएको पाइयो । त्यही रकम दावी गरी लिने दूषित मनसायका साथ शर्माले आइटी हबमा आफैंले आगो लगाएको आशंका भयो,’ एसपी ओलियाले भने, ‘बीमा रकम दाबी गर्नकै लागि आफैंले आगो लगाएको प्रमाणहरु फेला परेपछि पक्राउ गरी ७ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाएका छौं ।’ शर्माले पोखरा–२७ तालचोकमा पनि शर्मा आइटी हब सञ्चालन गर्दै आएका थिए ।

जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ घर भएका रमेशले ५ वर्ष अगाडिदेखि शर्मा आइटी सोलुसन नामक पसल सञ्चालन गरिरहेका थिए । त्यहाँ ६ जना कामदारसमेत छन् । उनै शर्माले गत पुसमा न्युरोडमा पसल खोलेर माघमा बीमा गरी फागुन १९ गते आफैंले पसलमा आगो लगाएको पाइएको एसपी ओलियाले जानकारी दिए । न्युरोडको पसलमा २ जना कामदार थिए । उनीहरु बिदामा रहेका बेला मोबाइल चार्जमा राखेर ट्वाइलेट गएर फर्किँदा केही आवाज आई आगो लागेको बेहोरा उल्लेख गर्दै रमेशले बीमा रकम दाबी गरेर निवेदनसमेत दिएको पाइएको थियो । घटनाको प्रकृति अध्ययन, घटनास्थल विवरण शंकास्पद भेटिएपछि प्रहरीले सञ्चालकमाथि नै अनुसन्धान थालेको थियो । अनुसन्धानका लागि आफैंले आगो लगाएको प्रशस्त आधार प्रमाण भेटिएर उनलाई पक्राउ गरिएको एसपी ओलियाको भनाइ छ ।

Post Comment