चोर ठानेर बाबुआमाले कुट्दा छोराको मृत्यु
१६ फागनु, काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ अदुवाबारीमा मध्यराति घरमा चोर आएको भन्दै प्रतिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय भरथकुमार भ्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले बताए । उनका अनुसार बिहीबार राति ९ बजेतिर भरथकुमार आफ्नो घरमा गएका थिए ।
त्यतिबेला घरमा उनका ६४ वर्षीय बुबा मीनबहादुर र ६३ वर्षीया देवीमाया भ्लोन थिए । मुखमा मास्क लगाएर आएका व्यक्तिले मीनबहादुर र देवीमायाको आँखामा खुर्सानीको धुलो हालेपछि उनीहरूले चोर भन्दै प्रतिकार गरेको डीएसपी अर्यालले बताए । प्रतिकार गर्दा आफ्नै छोरामाथि निर्घात कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि चितवन पठाइएको थियो । चितवनमै उपचारको क्रममा भरथको मृत्यु भएको डीएसपी अर्यालले बताए ।
भरथ विगत चार वर्षदेखि घर समेत नआएकाले बाबुआमाले नचिनको र त्यसमाथि खुर्सानीको घुलो समेत आँखामा हालिएकाले चोर भन्दै उनीहरूले प्रतिकार गरेको हुन सक्ने अर्यालको भनाइ छ । छोराका कुटाइबाट ६४ वर्षीय बाबुको करङ र हातको औंला भाँचिएको उनले बताए । आमाको पनि हात भाँचिएको छ । मकवानपुरमा उपचार कठिन भएपछि थप उपचारका लागि उनीहरूलाई काठमाडौं पठाइएको छ । घाइते बाबुआमालाई निगरानीमा राखेर अनुसन्धान गरिएको उनले बताए ।
Post Comment