शोरुमबाट नयाँ गाडी चोरेर भागेका मन्तोष पेट्रोल सकिएपछि समातिए
२ फागुन, विराटनगर । विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रालिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुम छ । कोशी राजमार्गसँगै जोडिएको उक्त शोरूममा बिहीबार मध्यरातमा एक व्यक्ति छिर्छन् । शोरुमा रहेको एउटा मात्रै गाडीमा सामानहरू हाल्छन् । त्यसपछि शोरुमको सिसा फुटाउँछन् र, गाडी लिएर उनी निस्कन्छन् ।
यो घटना शोरुम सञ्चालकले शुक्रबार बिहान मात्रै थाहा पाउँछन् । त्यसपछि उनी नयाँ गाडी चोरिएको भन्दै बिहान करिब ९ बजे प्रहरीलाई खबर गर्छन् । गाडी चोरी भएको खबर पाएसँगै प्रहरीले खोजी तथा अनुसन्धान कार्य अघि बढाउँछ । शुक्रबार दिउँसो सुनसरीमा शंकास्पद अवस्थामा गाडी रहेको खबर प्रहरीले पाउँछ । सूचना पाएलगतै प्रहरी टोली गढी गाउँपालिका– ५ को भित्री सडक खण्ड पुग्छ । जहाँ शोरुमबाट हराएको बा ०१३० च ८५८१ नम्बरको नयाँ गाडी फेला पर्छ ।स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले कार र चोरीमा संलग्न गढी गाउँपालिका–४ घर भई विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई पक्राउ गरेको छ ।
Post Comment