श्रममन्त्री भण्डारीलाई अध्यक्ष ठाकुरको निर्देशन : राजीनामाका लागि तयार रहनुस्
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीबाट सरकारमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई राजीनामा दिनका लागि तयार रहन निर्देशन दिएका छन् ।
भूमिसम्बन्धी अध्यादेश अस्वीकार गरेपछि अध्यक्ष ठाकुरले मन्त्री भण्डारीलाई राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने भन्दै एक–दुई दिनमा के–के गर्नुछ गर्न भनेका हुन् । बिहीबार सर्लाहीमा आयोजित कार्यकर्ता भेटघाटमा अध्यक्ष ठाकुरले अध्यादेशका कारण सरकारमाथि नैतिक संकट आएको बताए । उनले सरकारमाथि मात्र नभई आफ्नो पार्टी पनि नैतिक संकटमा आएको बताए ।
सरकारमा रहेर विपक्षमा निर्णय गर्नु पार्टीका लागि नैतिक संकट रहेको भन्दै उनले आफूले पार्टीका मन्त्रीलाई एक दुई दिनमा के –के गर्नुछ गर्नुस् भनिसकेको बताए । उनले भने, ‘अध्यादेश अस्वीकार गर्नु भनेको सरकार गिराउनका लागि होइन तर सरकारमाथि नैतिक संकट आएको छ । हामीमाथि पनि नैतिक संकट आएको छ । नैतिक संकट भनेको पर्सन कुरा हो ।’ अध्यादेश ल्याउँदा आफूहरूसँग कुनै छलफल नगरेको बताउँदै उनले अध्यादेश ल्याउनुभन्दा अगाडि गठबन्धनको बैठकमा विरोध गरेको उनले बताए ।
Post Comment