रविको फोटो सार्वजनिक गर्नेलाई साइबर अपराधमा कारबाही गरिने
४ पुस, पोखरा- सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा गत कात्तिक ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई साइबर अपराधसम्बन्धी मुद्दा चलाइने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले यसरी अनधिकृत रुपमा तस्बिर सार्वजनिक गर्नेलाई साइबर अपराधसम्बन्धी कानुनी प्रावधान गरिएको अभियोगमा मुद्दा चलाइने जनाएको हो । हिरासत कक्षमा लामिछाने सुतिरहेको तस्बिर सार्वजनिक भएपछि प्रहरीको आलोचना भइरहेको छ । यस्तोमा जिप्रका कास्कीका सूचना अधिकारी एवम् डीएसपी वसन्तकुमार शर्माले तस्बिर सार्वजनिक गर्नेलाई कारबाही थालिने बताएका हुन् । शर्माले सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनीयता कायम गर्नु पर्ने व्यवस्था र प्रचलित साइबर अपराधसम्बन्धी कानुनी प्रावधानलाई उल्लंघन गरिएको जनाएका छन् ।
Post Comment