एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित
१८ भदौ, काठमाडौं। एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । राष्ट्रिय सभाको अर्को बैठक भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा ‘संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८०’ प्रस्तुत भयो । प्रस्तुत प्रतिवेदनलाई सभाले सर्वसम्मत रुपमा स्वीकृत गर्यो ।
साथै उक्त प्रतिवेदनमाथि राष्ट्रिय सभामा सोमबार नै छलफल भयो । छलफलमा १० जना सांसदले भाग लिए । सांसदहरुले संविधान अनुसार कानुन नबन्दा प्रदेश र स्थानीय तहले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गरे । कानुन अभावमा संविधानः प्राप्त अधिकारको सदुपयोग हुन नसकेको बताए । कानुन अभावमा अराजकता समेत बढ्दै गएको भन्दै सांसदहरुले सरकार जवाफदेही बन्नुपर्नेमा जोड दिए ।
जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान अनुकुल बनाउनुपर्ने कानुन बनाउने कार्यमा अग्रसर रहेको बताए । विगतमा विविध कारणले संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरू बन्नमा ढिलाइ भएको स्वीकार गर्दै उनले एक एक गरी विधेयकहरू संसद्मा ल्याउने प्रतिवद्धता जनाए । प्रधानमन्त्रीको जवाफ पछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक साता बस्ने गरी बैठक स्थगित गरेका हुन् ।