प्रचण्डलाई ओलीको सुझाव- हतियार उठाउने धम्की नदिनु
११ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धम्क्याएका भरमा चल्ने गरेको आरोप लगाएका छन् । आइतबार एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेको भन्दै प्रचण्डलाई जवाफ दिएका हुन् ।

शनिबार प्रचण्डले पार्टीको विरोधसभामा हतियार मात्रै बिसाएका हौँ, चलाउन बिर्सेका छैनौँ भन्दै अभिव्यक्ति दिएका थिए । उनले भने, ‘हिजो एकजना उफ्रीउफ्री भाषण गर्दै थिए । हिजो मात्रै देख्या थे । हतियार बिसाएको मात्रै हो भ्रम नरहोस् । चलाउन बिर्स्या छैन, त्यस्तैत्यस्तै त हामी हुनु भएन नि, धम्क्याएका भरमा खाने । हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने तरिका पनि हामीलाई थाहा छ । हामी चलाउन त चलाउँदैनौं तर बिसाउन लगाउन जानेको छौँ । ’उनले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताए । प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताए ।
उनले भने,‘नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।’प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरे ।
उनले सरकारको तर्फबाट संघलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्र रुपमा काम गर्न आग्रह गर्दै भने,‘म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो ।’
Post Comment