संसदको संयुक्त बैठकअघि राष्ट्रियसभाको बैठक बस्दै
५ जेष्ठ, काठमाडौं। संसदको दुबै सदनको संयुक्त बैठक बस्नुअघि राष्ट्रिय सभाको बैठक बस्ने भएको छ ।
राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा उक्त बैठकमा ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन)नियमावली २०७५ संशोधन मस्यौदा समिति’ गठन सबन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यक्रम छ।
यस्तै ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली–२०७५ संशोधन मस्यौदा समितिमा राष्ट्रियसभा सदस्यहरूको मनोनयनसहित समिति’ गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि छ। यसैगरी आजको बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०८०’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।
यस्तै ‘कोभिड ११९ संकट व्यवस्थापन विधेयक २०७८ फिर्ता लिने अनुमतिको प्रस्ताव’ प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।आज अपराह्न ४ बजे संघीय संसद् भवन (नयाँ बानेश्वर) मा दुवै सदनको बैठक बस्दै छ। जसलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दै सरकारको आगामी नीति तथा कार्य प्रस्तुत गर्ने कार्यक्रम छ।