२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २, २०८३
|
|
४८ पटक हेरिएको
Shares
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

सारांश

  • कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुन: सञ्चालनमा आएको छ ।
  • गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण प्रसारण लाइन क्षतिग्रस्त भएको थियो ।
  • नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुन:स्थापना प्रणाली (ईआरएस) टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो ।

१ कात्तिक, काठमाडौं । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुन: सञ्चालनमा आएको छ ।

गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण प्रसारण लाइन क्षतिग्रस्त भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुन:स्थापना प्रणाली (ईआरएस) टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो । शनिबार राति सवा १० बजे प्रसारण लाइनको २२० केभीको एउटा सर्किटलाई चार्ज गरी अस्थायी रुपमा सञ्चालनमा ल्याइएको छ ।

बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित प्रसारण लाइनका चारवटा टावरमा क्षति पु‍र्याएको थियो । तीमध्ये टावर नम्बर २१, २३ र २४ पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने टावर नम्बर २२ मा आंशिक क्षति पुगेको थियो ।

प्रसारण लाइन अवरुद्ध भएपछि दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका निजी क्षेत्रका पाँच जलविद्युत् आयोजनाबाट उत्पादित कुल १७० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुन सकेको थिएन । लाइन सञ्चालनमा आएसँगै उक्त आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा पुन: जोडिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले प्राधिकरणका कर्मचारीको अहोरात्रको प्रयास र निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूसँगको सहकार्यमा इआरएस टावर प्रयोग गरी प्रसारण लाइन अस्थायी रूपमा सञ्चालनमा ल्याउन सफलता मिलेको बताए । भौगोलिक रूपमा अत्यन्त जटिल र दुर्गम स्थानमा ईआरएस टावर जडान गर्नु चुनौतीपूर्ण भए पनि निरन्तरको प्रयासबाट काम सम्पन्न गर्न सकिएको उनले बताए ।

प्राधिकरणको पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काका अनुसार ईआरएस टावरमार्फत प्रसारण लाइन सञ्चालनमा ल्याइएपछि बाढीले क्षति पु‍र्याएका टावरको स्थायी पुनर्निर्माण प्रक्रिया अगाडि बढाइएको छ । स्थायी टावर निर्माण सम्पन्न भएपछि प्रसारण लाइनको दाना–राहुघाट खण्ड नियमित अवस्थामा सञ्चालनमा आउने छ ।

कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् एकीकृत गरी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्ने उद्देश्यले कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा र रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ स्थित नयाँ बुटवल सबस्टेसनसम्म पुग्ने यस प्रसारण लाइनको कुल लम्बाइ करिब १३० किलोमिटर छ । प्रसारण लाइनले करिब १ हजार २ सय  मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमता राख्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...