एनपीएलमा डीआरएस प्रयोग हुने सम्भावना बलियो, परीक्षण सकियो
प्रेस संवाददाता
|
शनिबार, आश्विन ३, २०८३
|
|
१०७ पटक हेरिएको
0
Shares
प्रेस संवाददाता
0
Shares
सारांश
नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको तालिका शनिबार सार्वजनिक भइसकेको छ ।
तालिका आउनु अघि विभिन्न टोलीले विदेशी खेलाडीहरू अनुबन्ध पनि गरिरहेका छन् ।
हालसम्म काठनान्डु गोर्खाजले एनपीएल इतिहासकै सबैभन्दा ठूलो अनुबन्ध पूरा गर्दै डेभिड वार्नरलाई भित्र्याइसकेको छ ।
३ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको तालिका शनिबार सार्वजनिक भइसकेको छ । तालिका आउनु अघि विभिन्न टोलीले विदेशी खेलाडीहरू अनुबन्ध पनि गरिरहेका छन् ।
हालसम्म काठनान्डु गोर्खाजले एनपीएल इतिहासकै सबैभन्दा ठूलो अनुबन्ध पूरा गर्दै डेभिड वार्नरलाई भित्र्याइसकेको छ । यस्तै जिमी नीशम, शाकिब अल हसन, सिकन्दर राजा, चरिथ असलंकाजस्ता वर्तमान खेलाडीहरू पनि एनपीएल खेल्न आउने पक्का भइसकेको छ ।
विदेशी खेलाडीहरू अनुबन्ध भइरहँदा एनपीएलको चर्चा त बढेको छ नै, त्यति नै उत्साह समर्थकहरूमा पनि बढिरहेको छ । अझ एनपीएलले आईसीसीबाट मान्यता पाउने र यसपटक एनपीएलमा डीआरएस प्रविधिको प्रयोग हुने कुरा पनि चर्चाका विषयहरू बन्दै आएका छन् ।
यसैबीचमा क्यानका सचिव पारस खड्काले एनपीएलमा पहिलोपटक डीआरएस ल्याउने पहल भइरहेको बताएका छन् ।
उनका अनुसार दुई कम्पनीसँग प्रविधिको परीक्षण सम्पन्न भइसकेको छ र अब त्यसको तथ्यपरकता (एक्युरेसी) मूल्यांकनपछि अन्तिम निर्णय गरिनेछ । पारसले डीआरएस नेपाली समर्थकको लामो समयदेखिको अपेक्षा भएको उल्लेख गर्दै भने, ‘हामीले दुई कम्पनीसँग परीक्षण गरिसकेका छौं। अब त्यसको एक्युरेसी कति छ भन्ने अन्तिम निष्कर्ष आएपछि कुन कम्पनीसँग जाने भन्ने निर्णय हुन्छ । प्रविधि विश्वसनीय देखिए यसै संस्करणबाट डीआरएस सुरु गर्न सक्छौं।’
उनले अन्तर्राष्ट्रिय स्तरको पूर्ण डीआरएस नेपालका लागि तत्काल सम्भव नभए पनि घरेलु लिगका लागि उपयुक्त प्रविधि प्रयोग गर्ने तयारी भइरहेको बताए ।
‘विश्वकपमा प्रयोग हुने डीआरएसका लागि ठूलो स्रोतसाधन चाहिन्छ। तर नेपालमा पहिलो पटक प्रयोग गर्न मिल्ने विश्वसनीय प्रणाली भए हामी त्यसलाई लागू गर्ने पक्षमा छौं’ उनले भने ।
डीआरएस क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको चर्चित प्रविधि हो । यसले अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत भएजस्तो लागेमा त्यसलाई रिभ्यू गर्ने अवसर प्रदान गर्न सक्छ जसका कारण बलिङ टिमले विकेट प्राप्त गर्न सक्छ भने ब्याटिङ टिमले विकेट फर्काउन सक्छ ।
आईसीसीको मान्यता अन्तिम चरणमा
पारसले एनपीएलको आइसीसीको मान्यता (स्याङ्सन) प्रक्रिया पनि अन्तिम चरणमा पुगेको जानकारी दिए । डेभिड वार्नर, शाकिब अल हसन, सिकन्दर राजा, रवि बोपारा लगायतका स्टार खेलाडी अनुबन्ध भइसकेको उल्लेख गर्दै उनले थप चर्चित खेलाडीको घोषणा स्याङ्सन आएपछि मात्रै हुने बताए ।
‘चासो धेरै भएकाले विभिन्न नामहरू बाहिर आएका छन् । तर आधिकारिक घोषणा नभएसम्म अनुमान गर्नु ठीक हुँदैन । स्याङ्सन आएपछि फ्रेन्चाइजहरूले क्रमशः सबै खेलाडी सार्वजनिक गर्नेछन्’ उनले भने।
आईसीसीको मान्यता पाएमा खेलाडीहरूले बनाएका कीर्तिमानसँगै रन र विकेट पनि करियरमा जोडिने छ । लिस्ट ए वा टी-२० मान्यता जे पनि हुनसक्ने पारसको भनाइ छ ।
यसअघि एनपीएलका सुरुवाती दुई संस्करणमा खेलाडीहरूले गरेको प्रदर्शन कुनै पनि करियरमा जोडिएको छैन । यसपटक एनपीएलले आईसीसीको मान्यता पाएमा आगामी सिजनदेखि एनपीएल थप विस्तारित र विश्वचर्चित बन्ने छ ।
ओडीआई जोगाउने लक्ष्य, टेस्ट राष्ट्रसँग थप शृङ्खलाको पहल
आगामी ओडीआई लिग–२ का चार खेललाई अहिलेको सबैभन्दा ठूलो प्राथमिकता रहेको पारसले बताए । नेपालले ओडीआई मान्यता जोगाउन ती खेलमा राम्रो प्रदर्शन गर्नुपर्ने भन्दै उनले प्लेअफसम्म पुग्ने सम्भावनाका लागि पनि क्यानले तयारी गरिरहेको जानकारी दिए।
त्यससँगै भारत ‘ए’ र बंगलादेश शृङ्खलाको प्रक्रिया अघि बढिसकेको र अन्य टेस्ट राष्ट्रसँग पनि द्विपक्षीय शृङ्खलाका लागि प्रस्ताव पठाइएको उनले बताए ।
‘२०२७ का लागि हाम्रो क्रिकेट क्यालेन्डर लगभग तयार छ। औपचारिक निर्णयपछि त्यसलाई सार्वजनिक गर्नेछौं’ पारसले भने।
उनले अन्त्यमा नेपाली समर्थकलाई टोलीसँग निरन्तर सकारात्मक साथ दिन आग्रह गर्दै भने, ‘एक रनले हार होस् वा एक रनले जित, खेलाडीहरूलाई भन्दा बढी कसैलाई चिन्ता हुँदैन। यही संघर्षबाट नेपाली क्रिकेट यहाँसम्म आइपुगेको हो, त्यसैले विश्वास र समर्थन नै अहिलेको सबैभन्दा ठूलो शक्ति हो ।’
प्रतिक्रिया