महोत्तरीको जलेश्वर र गौशाला बजार बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १५, २०८३
|
|
४१ पटक हेरिएको
Shares
महोत्तरीको जलेश्वर र गौशाला बजार बन्द

सारांश

  • सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर तथा गौशाला बजार शुक्रबार बन्द गरिएको छ ।
  • प्रदर्शनकारीहरूले जलेश्वरका विभिन्न चोकमा टायर बालेर विरोध प्रदर्शन गर्दै बजार, व्यवसाय तथा यातायात पूर्ण रूपमा बन्द गराएका छन् ।
  • बन्दका कारण दैनिक जनजीवन प्रभावित भएको छ भने बजार क्षेत्र सुनसान बनेको छ ।

 

१५ साउन, महोत्तरी ।

सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर तथा गौशाला बजार शुक्रबार बन्द गरिएको छ । प्रदर्शनकारीहरूले जलेश्वरका विभिन्न चोकमा टायर बालेर विरोध प्रदर्शन गर्दै बजार, व्यवसाय तथा यातायात पूर्ण रूपमा बन्द गराएका छन् । बन्दका कारण दैनिक जनजीवन प्रभावित भएको छ भने बजार क्षेत्र सुनसान बनेको छ । सर्वसाधारणको चहलपहल फाटफुट रुपमा मात्र देखिएको छ । यस्तै, जिल्लाको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा पनि हिन्दुवादी संघ–संगठनका अगुवाहरूले विरोध प्रदर्शन गर्दै बजार व्यवसाय बन्द गराएका छन् ।

यद्यपि, जिल्लाको समग्र सुरक्षा अवस्था सामान्य रहेको महोत्तरीका प्रहरी प्रवक्ता एवं डिएसपी पञ्चलाल गोलेले जानकारी दिए । उनका अनुसार जिल्लाका केही स्थानमा छिटफुट प्रदर्शन भए पनि अवस्था नियन्त्रणमा रहेको छ । सम्भावित परिस्थितिलाई ध्यानमा राख्दै जिल्लाभर सुरक्षा व्यवस्था थप कडा पारिएको उनले बताए । यसैबीच, जिल्ला प्रशासन कार्यालय महोत्तरीले शान्ति, सामाजिक सद्भाव, आपसी भाइचारा तथा धार्मिक सहिष्णुता कायम राख्न सम्पूर्ण जिल्लावासीसँग हार्दिक अपिल गरेको छ । प्रशासनले जारी गरेको अपिलमा महोत्तरी सदियौँदेखि धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी भाइचाराको उदाहरणका रूपमा परिचित जिल्ला रहेको उल्लेख गर्दै कुनै पनि बाह्य प्रभाव, अफवाह वा उत्तेजनात्मक गतिविधिले समाजको शान्ति र एकतामा नकारात्मक असर पार्न सक्ने भएकाले संयमित, जिम्मेवार र कानुनको पालना गर्दै सामाजिक सद्भाव कायम राख्न सबैसँग आग्रह गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?