सजिवनको खेती विस्तार गर्दै चन्द्रनगर गाउँपालिका
सारांश
- बहुगुणी बनस्पती सजिवन (मोरिंगा) को खेती विस्तारका लागि सर्लाहीको चन्द्रनगर गाउँपालिकामा निरन्तर अभियान सञ्चालन गरिँदै आएको छ ।
- गाउँपालिकाले निःशुल्क विरुवा वितरण र खेती विस्तारका लागि हौसल्ला प्रदान गरेपछि सजिवनको खेती गर्ने किसान बढ्न थालेका छन् ।
- चन्द्रनगर गाउँपालिका १ किसनपुरका किसान लालबाबु रामले गाउँपालिकाबाट अभियान सञ्चालन भएपछि आफूले पनि सजिवनको व्यावसायिक खेती सुरु गरेको बताउनुभएको छ ।
२३ असार, सर्लाही ।
बहुगुणी बनस्पती सजिवन (मोरिंगा) को खेती विस्तारका लागि सर्लाहीको चन्द्रनगर गाउँपालिकामा निरन्तर अभियान सञ्चालन गरिँदै आएको छ । गाउँपालिकाले निःशुल्क विरुवा वितरण र खेती विस्तारका लागि हौसल्ला प्रदान गरेपछि सजिवनको खेती गर्ने किसान बढ्न थालेका छन् । चन्द्रनगर गाउँपालिका १ किसनपुरका किसान लालबाबु रामले गाउँपालिकाबाट अभियान सञ्चालन भएपछि आफूले पनि सजिवनको व्यावसायिक खेती सुरु गरेको बताउनुभएको छ । आफूले सेवन गर्दा स्वास्थ्यका लागि फाइदा हुने र ठूलो क्षेत्रफलमा खेती गर्न सके आम्दानीको स्रोतसमेत बन्ने देखेर थोरै जग्गामा लगाएर भए पनि सजिवनको खेती सुरु गरेको रामले बताएका छन् । “गाउँपालिकाले निःशुल्क विरुवा दिएपछि मैले पनि विरुवा लगेर सुरुमा त डेढ धुरमा सजिवन लगाएको छु,” रामले भने,“आगामी दिनमा थप खेती विस्तार गरेर लैजाने सोँच बनाएको छु ।” निःशुल्क प्राप्त गरेको विरुवा भर्खरै खेतमा लगेर रोपेको रामले जानकारी दिए । चन्द्रनगर गाउँपालिका ६ गोसबरियाका सुवोधकुमार कर्णले गाउँपालिकाबाटै सजिवनको विरुवा लगेर ३०० बढी रुख हुर्काइसकेका छन् । आफूले समेत सजिवनको पातबाट धुलो बनाएर सेवन गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव देखिएको कर्णले बताए ।

“सजिवनको पातबाट बनाइएको धुलो नियमित सेवन गर्दा तौल पनि नियन्त्रणमा राख्ने रहेछ,” कर्णले भने, “आफ्नै जीवनमा प्रयोग गर्दा उपयोगी देखिएपछि सजिवनको खेतीप्रति थप आकर्षित गरेको छ ।” सजिवनको पातबाट पाउण्डर बनाएर बेच्दा गाउँघरमा धेरथोर आम्दानी पनि गर्न सुरु गरेको कर्णले बताएका छन् । किसानले उत्पादन गरेको सजिवनको बजारीकरणमा सहयोग पुगे यसको खेतीबाट राम्रो आम्दानी हुने अवस्था रहेको उनको भनाइ छ । शिक्षण पेशासँगै सजिवनको खेतीमा लागेका कर्णले गाउँपालिकाबाट भर्खरै आयोजित नेपालमै पहिलो सजिवन सम्मेलनबाट यसको खेतीबाट थप विषयवस्तु बुझ्न पाएको बताएका छन् । उनले भने“सोहजन खेतीबारे राम्रोसँग बुझ्न पाइयो, अब यो खेतीबाट हुने उत्पादनको बजारीकरणका लागि पनि गाउँपालिकाले पहल गर्न जरुरी छ ।”

सजिवन खेतीका अभियन्ता एवं मोरिंगा बाबाको उपनामले परिचित हेमन्तराज काफ्ले आफूलाई लामो समयसम्म औषधि सेवन गर्दा पनि जण्डिस निको नभएपछि सजिवनको पात खाएपछि रोग निको भएको अनुभव बताउँछन् । सजिवनको नियमित सेवनले आफ्नो स्वास्थ्य तन्दुरुस्त रहेको काफ्लेको भनाइ छ । काफ्लेले चन्द्रनगर गाउँपालिकाले झैँ देशभरका ७५३ वटै पालिकाले सजिवन खेतीको प्रवद्र्धन गर्न जरुरी रहेको बताएका छन् । “सजिवनको खेती हिमाल, पहाड, तराई सबैतिर गर्न सकिन्छ, त्यसैले चन्द्रनगर गाउँपालिकाकै झैँ अन्य पालिकाहरुले पनि यो खेतीलाई प्राथमिकता दिन आवश्यक छ,” काफ्लेले भने “सजिवनको महत्व र गुणबारे आम नागरिकलाई बुझाउन सकियो भने मात्र पनि धेरै फलदायी हुन्छ ।” काफ्ले सजिवनलाई चमत्कारिक विरुवाको रुपमा चिन्दछन् । यसले ३०० भन्दा बढी रोगमा औषधिको काम गर्ने आफूले अभियानको सिलसिलामा थाहा पाएको उनले बताए ।

चन्द्रनगर गाउँपालिकाले असार १३ र १४ गते आयोजना गरेको नेपाल सजिवल सम्मेलनमा देशभरका ७ वटै प्रदेशबाट विद्यार्थी, किसान, व्यवसायी र सजिवन खेतीका अभियन्ता सहभागी भएका थिए । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले २०७९ मा निर्वाचित भएर आएदेखि अन्य कामसँगै विशेष र फरक किसिमले ‘चन्द्रनगर सजिवन क्रान्ती’ अभियान सुरु गरिएको बताए । आफूहरु निर्वाचित भएर आएदेखि पहिलो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटदेखि नै यस अभियानलाई प्राथमिकता दिएको उनले बताए । उनले हरित अर्थतन्त्र र रोजगारी सिर्जना गर्न सजिवन क्रान्ति अभियान सुरु गरिएको बताएका छन् । वैज्ञानिक प्रमाणका आधारमा तीन सय बढी रोगको रोकथाम र उपचार गर्ने पत्ता लागेकाले पनि आफूहरुलाई सजिवन क्रान्ती अभियानप्रति आकर्षित गरेको गाउँपालिका अध्यक्ष महतोले बताएका छन् । “पहिलो त मानिसलाई स्वस्थ राख्ने र अर्को कुरा परिवार, समाज र देशलाई आर्थिकरुपमा समृद्ध बनाउने भएकाले गाउँपालिकाभित्रका स्थानीयलाई सजिवन खेतीप्रति आकर्षित बनाएका हौँ,” गाउँपालिका अध्यक्ष महतोले भने, “धेरै हदसम्म हाम्रो अभियान सफल रुपमा अघि पनि बढेको छ ।”


प्रतिक्रिया