सुधन गुरुङमाथि छानबिन गर्ने म्याद ५ दिन थपियो
सारांश
- तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङमाथि छानबिन गर्न थप पाँच दिनको समय थपिएको छ ।
- आज मंगलबारदेखि लागु हुनेगरी पाँच दिनको समय थप भएको छानबिन समितिका अध्यक्ष अच्युतमप्रसाद भण्डारीले बताए ।
- ‘म्याद अपुग भएकाले हामीले पाँच दिनको समय माग गरेका थियौं ।
१९ जेठ, काठमाडौं ।
तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङमाथि छानबिन गर्न थप पाँच दिनको समय थपिएको छ । आज मंगलबारदेखि लागु हुनेगरी पाँच दिनको समय थप भएको छानबिन समितिका अध्यक्ष अच्युतमप्रसाद भण्डारीले बताए । ‘म्याद अपुग भएकाले हामीले पाँच दिनको समय माग गरेका थियौं । पाँच दिन म्याद थप भएको पत्र प्राप्त भएको छ । अबको पाँच दिनभित्र छानबिन सकाएर प्रतिवेदन बुझाउछौं,’ भण्डारीले भने । समितिले गुरुङसँग बयानसमेत लिइसकेको छ ।

बयान लिनुअघि समितिले उनीमाथि लागेका आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरण केलाएर अध्ययन गरेको बताएको छ । मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो । समितिलाई दिइएको १५ दिनको समय दिइएको थियो । उक्त समय हिजो सोमबार सकिएको छ । आजबाट थप पाँच दिनको समय लागु भएको छ ।

के हो सुधनमाथिको आरोप ?
सम्पत्ति शुद्धीकरणको कसुरमा व्यवसायी दीपक भट्ट १९ चैतमा काठमाडौंबाट पक्राउ परे । उनी अहिले पनि प्रहरी हिरासतमै छन् । हिरासतमा रहेका व्यवसायी भट्टसँग साझेदार देखिएपछि गुरुङ विवादमा तानिएका थिए । सम्पत्ति विवरण सार्वजनिक गर्दा सेयर लुकाएको, विवादास्पद व्यापारीको कम्पनीमा सेयर देखिएको जस्ता विषय सार्वजनिक भएपछि ९ वैशाखमा गुरुङले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए । उनले बुझाएको सम्पत्ति विवरण, जग्गा, सुन लगायतका विषयमा अनेक टीकाटिप्पणी भएका थिए । राजीनामा दिँदै गुरुङले फेसबुकमा लेखेका थिए, ‘पछिल्ला दिनहरूमा नागरिक स्तरबाट सेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु ।
मेरा लागि पदभन्दा ठूलो नैतिकता हो । जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् ।’ छानबिन होस् भन्दै गुरुङले राजीनामा दिएको २० दिनपछि ३१ वैशाखमा सरकारले छानबिन समिति बनाएको थियो । आफूमाथि आरोप लागेपछि गुरुङले मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यस यता गृह मन्त्रालय प्रधानमन्त्रीकै मातहत रहेर चल्दै आएको छ । छानबिन समितिले निर्दोष ठहराए गुरुङ पुनः गृहमन्त्री बन्न सक्ने चर्चा पनि उत्तिकै छ ।


प्रतिक्रिया