Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कर्णालीमा माओवादीका मन्त्रीहरुले दिए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ७, २०८१
|
|
११२ पटक हेरिएको
Shares
कर्णालीमा माओवादीका मन्त्रीहरुले दिए राजीनामा

सारांश

  • नेकपा एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन् ।
  • प्रदेश सरकारमा सहभागी माओवादीका चार मन्त्रीले आज बिहान ११ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेका हुन् ।
  • केन्द्रमा दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरणको सरकार बनेसँगै माओवादी कर्णाली सरकारबाट बाहिरिन लागेको संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए ।

 

७ साउन, सुर्खेत । नेकपा एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन् ।

प्रदेश सरकारमा सहभागी माओवादीका चार मन्त्रीले आज बिहान ११ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेका हुन् । केन्द्रमा दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरणको सरकार बनेसँगै माओवादी कर्णाली सरकारबाट बाहिरिन लागेको संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए । ‘केन्द्रमा नयाँ समीकरण बनेपछि प्रदेश पनि सोही अनुसार चल्नु पर्छ । हाम्रो पार्टीबाट सहभागी मन्त्रीहरूले आज पत्रकार सम्मेलन गरेर राजीनामा दिनुहुन्छ,’ जिसीले अनलाइनखबरसँग भने । कर्णालीमा पहिलोपटक माओवादी प्रमुख प्रतिपक्षी दलको बेन्चमा बस्ने भएको छ ।  प्रदेश सरकार गठन भएदेखि नै सरकारमा सहभागी हुँदै आएको माओवादी ६ वर्षदेखि सरकारमा छ ।

एमाले नेता यामलाल कँडेल नेतृत्वको प्रदेश सरकारमा माओवादीबाट आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र सामाजिक विकासमन्त्री वीरबहादुर शाही सहभागी छन् । उनीहरूले आज पत्रकार सम्मेलन गरेलगत्तै मुख्यमन्त्री कँडेल समक्ष राजीनामा पत्र बुझाउनेछन् । मन्त्रीको राजीनामासँगै माओवादी संसदीय दलले कँडेल नेतृत्वको सरकारलाई दिएको समर्थन समेत फिर्ता लिनेछ ।  हाल काठमाडौंमा रहेका संसदीय दलका नेता राजकुमार शर्माले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र मेलमार्फत पठाउने बताइएको छ ।

माओवादीले सरकारबाट बाहिरिने तयारी गर्दा पनि एमाले र कांग्रेसबीच नयाँ सरकार गठनका विषयमा छलफल नै सुरु भएको छैन । ४० सदस्यीय प्रदेश सभामा एमालेका ९ (सभामुख बाहेक) र कांग्रेसका १५ सांसद छन् । जबकि सरकार बनाउन २१ सांसद आवश्यक पर्छ । यसरी हेर्दा कर्णालीमा एमाले र कांग्रेसको सहज सरकार बन्छ । नयाँ समीकरणमा पनि मुख्यमन्त्री कँडेल नेतृत्वको सरकारले निरन्तरता पाउने र माओवादीले छोडेका मन्त्रालयहरू लिएर कङ्ग्रेस सरकारमा सहभागी हुने एमालेका सांसदहरू बताउँछन् । कर्णालीमा कांग्रेसले पनि अहिले नै सरकारको नेतृत्व आफूले पाउनु पर्ने अडान लिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?