कांग्रेस सांसद अभिषेकविरूद्व पक्राउ पुर्जी जारी
सारांश
- नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।
- कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्षमाथि आक्रमणको आरोप थियो ।
- कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश शर्मा) माथि भएको सामुहिक आक्रमणमा उनी जोडिएपनि कारबाही नभएको भन्दै चौतर्फी दबाब बढेको बेला कपिलवस्तु प्रहरीले मुद्दा दर्ता गरेर कानुनी प्रकृया अघि बढाएको हो ।
रूपन्देही ।
नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी भएको छ । कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्षमाथि आक्रमणको आरोप थियो । कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश शर्मा) माथि भएको सामुहिक आक्रमणमा उनी जोडिएपनि कारबाही नभएको भन्दै चौतर्फी दबाब बढेको बेला कपिलवस्तु प्रहरीले मुद्दा दर्ता गरेर कानुनी प्रकृया अघि बढाएको हो ।

कपिलवस्तु प्रहरीका सूचना अधिकारी डिएसपी रिपेन्द्रकुमार सिंहले शाहविरूद्व मुद्दा दर्ता भएर कानुनी प्रकृया अघि बढेको नेपाल प्रेसलाई बताए । कुटपिटको घटनामा उहाँविरूद्व मुद्दा दर्ता भएर कानुनी प्रकृया अघि बढेको छू उनले भने । यसअघि आक्रमणमा संलग्न व्यक्तिहरुविरुद्ध जाहेरी दिन जाँदा प्रहरीले उल्टै आलटाल गरेको र आफूलाई न्याय पाउनबाट वञ्चित गराउन खोजिएको भन्दै पीडित पक्षले गम्भीर गुनासो गरेका छन् । पीडित अध्यक्ष शर्माका अनुसार, घटनापछि प्रहरीले अनुसन्धानमा सक्रियता देखाउनुको साटो जाहेरी दर्ता गर्न आलटाल गरेको बताएका थिए । उनले दुई दिनअघि गर मुद्दा शाखामा जाहेरी पत्र बुझाएपनि ढिलाइ भएको गुनासो पत्रकारसमक्ष गुनासो गरेका थिए ।

आक्रमणमा संघीय सांसद अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका मेयर (नगरप्रमुख) रजतप्रताप शाहसहित १५–२० जनाको समूह आफ्नो निवासमा प्रवेश गरेर अन्धाधुन्ध कुटपिट गरेको पीडित शर्माको दाबी छ । उनले आफूले लामो समयदेखि क्षेत्रमा मौलाएको बेथिति, अनियमितता र आपराधिक गतिविधिहरुका विरुद्ध सशक्त आवाज उठाउँदै आएकाले प्रतिशोध साँध्न सांसदकै आडमा नियोजित रुपमा आक्रमण गरिएको बताएका छन् । उता सांसद शाहले भने आफ्नो क्षेत्रमा भएको घटना छुट्टाउन मात्र गएको जनाएका छन् ।

प्रतिक्रिया