१६ चैत्र २०८२, सोमबार

कांग्रेस सांसदसँग पूर्णबहादुर खड्काले भने– देश र जनताका सवालमा दृढतापूर्वक काम गर्नुस्

 

१६ चैत, काठमाडौं ।

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित सांसदलाई देश र जनताका पक्षमा दृढतापूर्वक उभिएर काम गर्न आग्रह गरेका छन् । सोमबार धुम्बराहीको स्मार्ट होटलमा आयोजित सांसदहरूलाई सम्मान तथा बधाई कार्यक्रममा बोल्दै खड्काले सांसदहरूका साथमा आफू र वरिष्ठ नेताहरू सधैँ सँगसँगै रहेको बताएका हुन् ।

‘निर्वाचनको परिणामपछि जुन तरिकाको संसदको बनोट छ, त्यसमा हाम्रो उपस्थिति कमजोर छ । नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएर आउनुभएका सबै माननीय सदस्यको भूमिका प्रभावकारी र अनुकरणीय रहनेछ,’ खड्काले भने, ‘संख्याको हिसाबले हामी कम भएपनि नेपाली लोकतान्त्रिक इतिहासको सिंगो धरोहर बोकेर तपाईँहरू संसद्मा प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।’ संसदीय गतिविधिमा रहँदा देश र जनताका पक्षमा प्रखर रूपमा प्रस्तुत हुन उनले नव निर्वाचित सांसदहरूलाई आग्रह गरे । ‘कानुन निर्माणको सन्दर्भ, नेपाली जनताको हक अधिकारको सन्दर्भमा हामीले वर्षौँको संघर्षबाट निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको सन्दर्भमा र जनताको अधिकारको सन्दर्भमा तपाईँहरू प्रखर रूपमा प्रस्तुत हुनुहुनेछ,’ उनले भने ।

संसद् बाहिर रहेका संसद्को अनुभव लिएका नेता सधैँ सांसदको साथमा रहने उनले बताए । उनले भने, ‘सबै खालको सहयोग, सद्भाव, सुझाव र शुभकामना सधैँ रहनेछ । तपाईँहरुले सम्झेको बेलामा हामी प्रस्तुत हुनेछौँ ।’ संसदीय प्रतिस्पर्धा, प्रस्तुति र देश तथा जनताको पक्षमा सुदृढ रूपमै प्रस्तुत रहन सांसदहरूसँग नेता खड्काले आग्रह गरे । यसअघिको सरकार बनाउँदा संविधान संशोधनलाई मूल मुद्दा बनाएपनि त्यसमा अघि बढ्न नसकेको बताउँदै अब संविधान संशोधनका पक्षमा उभिन पनि उनले आग्रह गरे । ‘संविधानका मूलभूत विषयमा सम्झौता नगरीकन संविधान संशोधनको बहसमा जुट्नुहोस् । संसद्भित्र तपाईँ बाहिर हामी सँगसँगै रहनेछौँ,’ नेता खड्काले भने ।

Post Comment

छुटाउनुभयो कि ?