७ चैत्र २०८२, शनिबार

कुवेतको तेल रिफाइनरीमा ड्रोन आक्रमण

 

६ चैत,काठमाडौं ।

अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व तेस्रो हप्तामा प्रवेश गरेसँगै पश्चिम एसिया र खाडी क्षेत्रमा तनाव उत्कर्षमा पुगेको छ । यसै क्रममा शुक्रबार कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी) ले आफ्नो ‘मिना अल अहमदी’ तेल रिफाइनरीमा ड्रोन आक्रमण भएको जनाएको छ ।


केपीसीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सार्वजनिक गरेको विज्ञप्ति अनुसार, शुक्रबार बिहानै भएको ड्रोन आक्रमणका कारण रिफाइनरीका धेरै इकाईहरूमा आगलागी भएको छ । सावधानीका लागि केन्द्रका केही भागहरू बन्द गरिएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको र आपतकालीन टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको कम्पनीले जनाएको छ । पछिल्लो समय पश्चिम एसियाका ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी आक्रमणहरू तीव्र भएका छन् । प्राप्त जानकारी अनुसार बुधबार राति इजरायलले इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रमा आक्रमण गरेको थियो ।

इजरायली आक्रमणको प्रतिशोधमा इरानले कतारको ‘रास लाफान’ औद्योगिक शहरमा आक्रमण गरेको छ । कतारको रक्षा मन्त्रालयका अनुसार यसबाट त्यहाँको औद्योगिक क्षेत्रमा ठूलो क्षति पुगेको छ । बिहीबार इरानले प्रहार गरेको ब्यालिस्टिक मिसाइलले इजरायलको उत्तरी सहर हाइफामा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा क्षति पु¥याएको सीएनएनले पुष्टि गरेको छ । यसैबीच, सुरक्षा अवस्था बिग्रिँदै गएपछि साउदी अरबले आफ्नो आकाशमा थप चारवटा ड्रोनहरू नष्ट गरेको रिपोर्ट सार्वजनिक गरेको छ ।

इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले इजरायललाई कडा चेतावनी दिँदै भनेका छन् कि इरानले हालसम्म आफ्नो शक्तिको सानो अंश मात्र प्रयोग गरेको छ । उनले ‘एक्स’ मा लेख्दै भनेका छन,‘हामीले संयमता अपनाउनुको एक मात्र कारण तनाव कम गर्ने आग्रहलाई सम्मान गर्नु थियो । तर, यदि हाम्रा पूर्वाधारहरूमा पुनः आक्रमण गरियो भने हामी ‘शून्य सहनशीलता’को नीति अपनाउनेछौं ।’ मन्त्री अराघचीले कुनै पनि युद्ध अन्त्यका लागि नागरिक स्थलहरूमा भएको क्षतिको उचित सम्बोधन हुनुपर्ने अडान समेत राखेका छन् । अहिले इजरायल र इरानबीच जारी मिसाइल आदान–प्रदान र सैन्य कारबाहीले विश्वव्यापी ऊर्जा आपूर्ति र सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको छ । एएनआई

Post Comment

छुटाउनुभयो कि ?