२७ फाल्गुन २०८२, बुधबार

महिलाको सम्मान र समान अवसरबिना लोकतन्त्र सुदृढ हुँदैन : प्रधानमन्त्री

 

२४ फागुन,काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले महिलाको अधिकार, न्याय र समान अवसर सुनिश्चित नगरेसम्म समतामूलक समाज निर्माण सम्भव नहुने बताएकी छन् ।११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले महिलाको सहभागिता मात्र बढाउनु पर्याप्त नभई अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।

‘सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यान्वयन’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ नेपालमा ‘सबै महिला र बालिकाको अधिकार, न्याय र अवसर सुनिश्चित गरौँ’ भन्ने राष्ट्रिय संकल्पसहित महिला दिवस मनाइएको उनले बताइन् । प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय महिला दिवस केवल उत्सव नभई महिलाको अधिकार, समानता र सम्मानका लागि भएको ऐतिहासिक संघर्षको स्मरण गर्ने दिन भएको उल्लेख गरिन् । उनले हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनलाई नेपाली जनताको विजयको रूपमा उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रियाबाट देशले संवैधानिक निकास प्राप्त गरेको बताइन् । निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न योगदान गर्ने नागरिक, निर्वाचन आयोग, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल तथा पर्यवेक्षकप्रति उनले आभार व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा मतपत्र नागरिकको आत्मसम्मानको प्रतीक भएको उल्लेख गर्दै जनप्रतिनिधिले जनताको विश्वास कायम राख्दै जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताइन् ।


उनका अनुसार नेपालको संविधानले महिला अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ भने समान प्रतिनिधित्व, समावेशी सहभागिता र सामाजिक न्यायलाई राज्य व्यवस्थाको आधार बनाएको छ । पछिल्ला वर्षहरूमा स्थानीय तहदेखि संघीय संसदसम्म महिलाको प्रतिनिधित्व उल्लेखनीय रूपमा बढेको उनले बताइन् । यद्यपि अझै पनि महिलाहरू विभेद, असमान अवसर र लैङ्गिक हिंसाबाट पूर्ण रूपमा मुक्त हुन नसकेको उनको भनाइ छ । उनले दलित, मधेस, कर्णाली तथा सीमान्तकृत समुदायका महिलाहरूको अवस्था अझ चुनौतीपूर्ण रहेको उल्लेख गरिन् ।

प्रधानमन्त्री कार्कीले शिक्षा, स्वास्थ्य, रोजगारी र नेतृत्व तहमा महिलाको पहुँच विस्तार गर्न राज्यले विभिन्न नीति तथा कार्यक्रम लागू गरिरहेको बताउँदै लैङ्गिक समानता र सामाजिक न्यायका लागि सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको धारणा राखिन् ।उनले महिलाले सम्मान, सुरक्षा र समान अवसर प्राप्त गरे मात्र लोकतन्त्र सुदृढ हुने र संविधानको मर्म कार्यान्वयन हुने बताउँदै समृद्ध, न्यायपूर्ण र समतामूलक नेपाल निर्माणका लागि सबैलाई हातेमालो गर्न आह्वान गरिन् ।

Post Comment

छुटाउनुभयो कि ?