५ फाल्गुन २०८२, मंगलवार

उच्च अदालत जनकपुरका कर्मचारीहरुद्वारा ‘पेन डाउन’

५ माघ, जनकपुर ।

जनकपुरधामस्थित उच्च अदालत जनकपुरधामका कर्मचारीहरूले ‘पेन डाउन’ गरेका छन् । सर्लाहीमा गत आइतबार राति सब-इन्जिनियर प्रमोद कुमार यादवको गोली प्रहार गरी हत्या भएको घटनाप्रति उच्च अदालत जनकपुर, धनुषामा कार्यरत कर्मचारीहरूले ‘पेन डाउन’ गर्नुका साथै घटनामा संलग्न अपराधीलाई कारबाहीको माग गरेका छन् ।

उनीहरूले मृतक राष्ट्रसेवक कर्मचारीलाई शहीद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन पनि आग्रह गरेका हुन् । मृतक परिवारका सदस्यलाई सरकारले जागिर समेत दिनुपर्ने उनीहरूले माग छ । हाल आसन्न निर्वाचनको सन्दर्भमा कर्मचारीहरू फिल्ड र कार्यालय दुवैमा खटिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै यस्तो घटनाले कर्मचारीको मनोबल घटाएको कर्मचारीहरूको भनाई छ । कर्मचारीहरूको पूर्ण सुरक्षा ग्यारेन्टी गर्न तथा कार्यक्षेत्र र व्यक्तिगत सुरक्षाको प्रत्याभूति गराउन राज्यसँग उनीहरूले माग गरेका हुन् ।.

उक्त घटनाको विरोध तथा दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन दबाब सिर्जनाका निम्ति बिहान १०:०० बजेदेखि १२:०० बजेसम्म उच्च अदालतबाट प्रवाह हुने सेवा बन्द ‘पेन डाउन‘ गरिएको उच्च अदालत जनकपुरमा कार्यरत मनोज कुमार यादवले बताए । यादवले मृतक यादवलाई गोली प्रहार गरी हत्या गर्नेलाई यथाशीघ्र पक्राउ गरी कानुनी दायरामा नल्याए थप आन्दोलन गर्न बाध्य हुने र सम्पूर्ण देशभरका अदालतको कामकाज ठप्पसमेत पार्ने चेतावनी दिए । उनले आज दिनभरि नै कालोपट्टी बाँधेर काम गर्ने बताए । उनका अनुसार आज सर्लाहीका कर्मचारीहरूले दिनभर नै कामकाज ठप्प पारेर विरोध जनाइरहेका छन् । सिराहाको खुसीपुर नगरपालिका-६ वैशाख घर भएका सब इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवको गत आइतबार राति मलङ्गवा नगरपालिका-१० स्थित डेरामा अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए । मोटरसाइकलमा आएका व्यक्तिले सब इन्जिनियर यादवलाई कोठाबाहिर बोलाएर गोली प्रहार गरेका थिए । उनको देब्रे छातीमा गोली लागेको थियो ।

Post Comment

छुटाउनुभयो कि ?