दक्षिण कोरियाका पूर्वराष्ट्रपति योललाई ५ वर्षको जेल सजाय
काठमाडौं ।
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई अदालतले शुक्रबार न्यायमा बाधा पुर्याउने र प्रमाण नष्ट गर्ने जस्ता गम्भीर अपराधहरूका लागि ५ वर्षको जेल सजाय सुनाएको छ । डिसेम्बर २०२४ मा देशमा मार्शल ल लागाउने असफल प्रयासपछि युन सुक योललाई पदबाट हटाइएको थियो । उनलाई मुख्य रूपमा मार्शल ल घोषणाको क्रममा कानुनी प्रक्रिया पालन नगर्ने, आधिकारिक कागजातहरूमा जालसाजी गर्ने, फोन डाटा मेटाएर प्रमाण नष्ट गर्ने र आफ्नो गिरफ्तारी रोक्न अधिकारीहरूको काममा बाधा पुर्याउने आरोपहरू प्रमाणित भएको बताइएको छ ।

युन सुक योलले डिसेम्बर २०२४ मा अचानक मार्शल ल घोषणा गरेर सबैलाई चकित पारेका थिए । उनले यसको बचाउ गर्दै विपक्षी र राज्यविरोधी शक्तिहरूबाट लोकतन्त्रको रक्षा गरेको दाबी गरेका थिए । यद्यपि, उनकै पार्टीका सदस्यहरू र विपक्षी सांसदहरूले संसदमा यसविरुद्ध मतदान गरेर मात्र ६ घण्टामा नै समाप्त गरेका थिए । मार्शल ल असफल भएपछि उनले आफूलाई आफ्नै निवासमा बन्द गरेका थिए । तर, पछि करिब तीन हजार प्रहरीहरूले गिरफ्तार गरेका थिए । यो दक्षिण कोरियाली इतिहासमा कुनै कार्यरत राष्ट्रपतिलाई गिरफ्तार गर्ने पहिलो घटना थियो । युन सुक योलमाथि अझै राजद्रोहको योजना बनाउने गम्भीर आरोपमा मुद्दा चलिरहेको छ । यसमा अभियोजकहरूले मृत्युदण्डको माग गरेका छन्, जसको फैसला फेब्रुअरीमा आउने अपेक्षा छ । हाल, गत वर्ष जुनमा भएको चुनावपछि विपक्षी लोकतान्त्रिक पार्टीका ली जेइ म्युङ देशका नयाँ राष्ट्रपतिका रूपमा नेतृत्व सम्हालिरहेका छन् ।




Post Comment