रिहाइपछि रविको प्रतिक्रिया- न्यायको लडाइँ बाँकी छ, सबको हिसाब गर्नु नै छ
४ पुस,बुटवल ।
रास्वपाका सभापति रवि लामिछाने न्यायको लडाइँ बाँकी रहेको बताएका छन् । भैरहवास्थित जिल्ला कारगारबाट छुटेपछि लामिछानेले आफूमाथि भएको अन्याय देशमाथि भएको अन्यको तुलनामा केही पनि नभएको बताए । आफू बोल्ने समय आउने भन्दै उनले हिसाबकिताब गर्न बाँकी रहेको बताए । ‘न्यायको यो लडाइँ मेरो बाँकी नै छ, मैले अझ धेरै लड्नु छ र मैले अहिले लड्नुपर्छ लड्न बाँकी छ भनेको मेरा लागि भनेको होइन तपाईंका लागि यो देशको न्यायका लागि लड्नुपर्ने छ भनेको हो,’ लामिछानेले भने, ‘यिनीहरूले यो देश माथि गरेको अन्यायको अगाडि म माथि गरेको अन्याय केही पनि होइन, त्यो सबको हिसाब गर्नुछ ।

त्यसको हिसाब मिलाएपछि अलि लामो बोलौंला, आजलाई म यति मात्र भन्छु कि हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ ।’ काठमाडौंबाट हवाईजहाजमा भैरहवा आउने तयारी भएपनि खराब मौसमका कारण लामिछाने चितवनसम्म जहाजमा आएर त्यहांबाट सडकमार्गबाट सांझ पौने ६ बजे भैरहवा कारागार आइपुगेका थिए । भैरहवा कारागार आइपुग्दा र छुटेपछि रास्वपाका नेता कार्यकर्ता र समर्थकहरुले उनको पक्षमा हुटिङ गर्दै खुशियाली मनाएका छन् । रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले उच्च अदालतको आदेशअनुसार केही सर्त र बैंक जमानतको कागज गरेर छाडेको बताए । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले हिजो धरौटीमा छोड्न आदेश दिएको थियो । बिगो बापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन् ।




Post Comment