२३ माघ २०८२, बिहीबार

एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता, सहमति प्रयास पनि जारी

 

२९ मंसिर, काठमाडौं।

काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ । नेतृत्व चयनका लागि आवश्यक परे मतदान समेत गर्ने भनेर सार्वजनिक गरिएको निर्वाचन तालिका अनुसार आज बिहान सवा १० बजे मतदाताको अन्तिम नामावली प्रकाशित हुनेछ । लगत्तै दिउँसो १:३० बजेसम्म उम्मेदवारहरुको दरखास्त फारम दर्ता गर्ने कार्यक्रम छ ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार उम्मेदवारहरुको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिने छ । त्यसपछि उम्मेदवारहरुको प्रारम्भिक नामावली उपर उजुरी दिने समय सुरु हुने छ । उजुरी दिने समय दिँसो साढे २ बजेदेखि ३ बजेसम्म तोकिएको छ । उजुरीमाथि जाँचबुझ लगायतका प्रक्रिया पूरा गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसपछि पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ कार्यसमिति चयनका लागि मतदान गर्ने गरी कार्यतालिका तयार पारिएको छ ।

निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरे पनि शीर्षतहमा सहमतिको प्रयास भइरहेको छ । अध्यक्ष ओली पक्षका नेताहरु अध्यक्षमा ओलीलाई नै निरन्तरता दिने र अन्य पदमा निर्वाचन गराउने पक्षमा देखिएका छन् । भक्तपुरको सल्लाघारीमा मंसिर २७ गते उदघाटन भएको एमालेको एघारौं महाधिवेशनको बन्दसत्र २८ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ । बन्दसत्र सुरुहुनु अघि बसेको दशौं महाधिवेशनबाट चुनिएको एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठकले भदौमा भएको विधान महाधिवेशनको निर्णय उल्ट्याएको थियो । अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी जम्मा १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरिएको थियो । केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटव्युरो सदस्य संख्याको एक तिहाइ स्थायी कमिटी बनाइने छ ।

Post Comment

छुटाउनुभयो कि ?