सहकारी ठगीमा रवि लामिछानेविरुद्ध जाहेरी लिन मानेन प्रहरीले

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २१, २०८०
|
|
७४ पटक हेरिएको
Shares
सहकारी ठगीमा रवि लामिछानेविरुद्ध जाहेरी लिन मानेन प्रहरीले

सारांश

  • पोखराको सूर्यदर्शन सहकारी ठगीमा प्रतिनिधिसभा सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पीडितले दिएको जाहेरी दर्ता गर्न प्रहरीले आनाकानी गरेको पाइएको छ।
  • लामिछानेसहित ८० जनाविरूद्ध जाहेरी दिन पीडितहरूको समूह गत माघ ९ गते जिल्ला प्रहरी कार्यालय कास्की पुगेका थिए।
  • प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि रित्तै फर्किनुपरेको सूर्यदर्शन बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए।

२१ माघ, काठमाडौँ। पोखराको सूर्यदर्शन सहकारी ठगीमा प्रतिनिधिसभा सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पीडितले दिएको जाहेरी दर्ता गर्न प्रहरीले आनाकानी गरेको पाइएको छ।

लामिछानेसहित ८० जनाविरूद्ध जाहेरी दिन पीडितहरूको समूह गत माघ ९ गते जिल्ला प्रहरी कार्यालय कास्की पुगेका थिए। प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि रित्तै फर्किनुपरेको सूर्यदर्शन बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए। ‘हामीले माननीय रवि लामिछानेज्यूसहित ८० जनाविरूद्ध जाहेरी दिन गएका थियौं, प्रहरीले जाहेरी नै मिलेन भनेर फर्काइदियो,’ उनले भने । सहकारी ठगीमा लामिछानेको संलग्नता देखिएकोले अनुसन्धान गर्नुपर्ने पीडितहरूको भनाइ छ। लामिछानेले भने सहकारीमा आवद्ध नभएकाले ठगीमा आफ्नो संलग्नता नभएको बताउँदै आएका छन्।  सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनी रूपमा पैसा लगेको र टेलिभिजनको प्रवन्ध निर्देशक लामिछाने भएकाले छानबिनको दायरामा ल्याउनुपर्ने पीडित पक्षको माग छ।

पीडित पक्षले अहिले अदालतमा दर्ता भइसकेको सहकारी ठगी मुद्दाको अनुसन्धान प्रतिवेदन नै अपुरो भएको बताएका छन्। पोखरा महानगरपालिकाले गरेको छानबिन प्रतिवेदन र कास्की प्रहरीले गरेको अनुसन्धान प्रतिवेदन दुवै अपुरो भएको उनीहरूको भनाइ छ। ‘सहकारीबाट डेढ अर्ब रुपैयाँ अपचलन हुँदा व्यक्ति र कम्पनी गरी ४ सय जनाले पैसा लगेको देखिन्छ,’ श्रेष्ठले भने, ‘उनीहरू सबै छानबिनको दायरामा आउनुपर्छ, दोषी हुन् कि निर्दोष अदालतले फैसला गर्छ।’ अनुसन्धान प्रतिवेदनका विषयमा महानगरले खटाएको सहकारी छानबिन विज्ञ सदस्य सिए अनिल लामिछानेसहित पीडित र कास्की प्रहरी प्रमुख मोहन थापाबीच छलफल भएको थियो। छलफलपछि पनि जाहेरी लिएर जाँदा नमिलेको भन्दै फर्काइदिएको पीडित पक्षले बताएका छन्।

प्रहरीले जाहेरी नमिलेको भन्दै फर्काइदिएपछि अर्को जाहेरी लेखेर कास्की प्रहरीको मुद्दाफाँटमा लगेको थियो। मुद्धा फाँटका प्रहरी अधिकारीले फेरि जाहेरी नमिलेको, जाहेरी पत्रका तलमाथि दुई अमल ठाउँ नछाडेको र ल्याप्चे लगाएको नमिलेको भन्दै फर्काइदिएको संयोजक श्रेष्ठले बताए। ‘हामीले फेरि जाहेरी लेखेर लैजाँदा मुद्दा फाँटले मिलेन भन्यो। जाहेरी पत्रको तलमाथि दुई अमल नछाडेको, ल्याप्चे लगाएको मिलेन, हस्ताक्षर पनि मिलेन भनेर फर्काइदियो,’ उनले भने। यसरी तीन पटकसम्म जाहेरी लिएर गए पनि दर्ता नभएको उनले बताए। कास्की प्रहरी प्रमुख एसपी थापाले जाहेरीमा उल्लेखित व्यक्तिहरूको ठेगाना नखुलेकाले नलिएको बताए।  अदालतमा मुद्दा पुगेर विचाराधीन भएको अवस्थामा अदालत वा सरकारी वकिलको कार्यालयबाट निर्देशन आउनुपर्ने उनको भनाइ छ।

‘सहकारी पीडितहरूले ल्याउनुभएको जाहेरीमा कतिपयको ठेगाना खुलेको थिएन, अलि डिटेलमा ल्याउनुपर्छ भनेका हौं,’ उनले भने, ‘अदालतमा विचाराधीन मुद्दामा थप अनुसन्धान गर्न अदालत वा सरकारी वकिलको कार्यालयबाट निर्देशन आउनुपर्छ।’ सरकारी वकिलको कार्यालयले पनि थप अनुसन्धान गरी जाहेरी दिन माग गर्दा ढिलासुस्ती गरेको पीडितहरूको गुनासो छ। कास्कीका सरकारी वकिल कार्यालय प्रमुख गोपालप्रसाद ढकालले व्यस्तताका कारण केही दिन ढिला हुन पुगेको बताए। ‘सहकारीका पीडितहरू आउनुभएको थियो, सबै हेरेर गरौंला भनेको छु,’ उनले भने, ‘कार्यक्रममा व्यस्त भएकाले केही दिन ढिला भएको हो।’ अब पीडितहरूको जाहेरी हेर्ने र थप अनुसन्धान गरी अभियोग अघि बढाउने उनले बताए। ‘पीडितले अरू व्यक्ति पनि सहकारी ठगीमा दोषी छन् भनेर जाहेरी आएपछि अभियोग नजाने कुरा हुँदैन,’ उनले भने, ‘अभियोग गएपछि दर्ता हुन्छ, रोक्न मिल्दैन।’

सूर्यदर्शन सहकारी ठगीमा अदालतमा मुद्दा दर्ता गर्दा जिल्ला सरकारी वकिलको कार्यालयले १९ जनालाई मात्र अभियोग लगाएको छ। पोखरा महानगर र प्रहरीको अनुसन्धान प्रतिवेदन फितलो भएकै कारण ठगीमा संलग्न अधिकांश व्यक्ति अनुसन्धानको दायरामा पनि आउन नसकेको पीडित पक्षको दाबी छ। ‘सूर्यदर्शन सहकारीबाट ४ सय जनाले पैसा लिएको देखिन्छ, जम्मा १९ जनाविरूद्ध मात्र अभियोग छ,’ उनले भने, ‘गैरकानुनी रूपमा पैसा लैजाने कम्पनी, त्यसका मालिक र प्रवन्ध निर्देशकलाई छानबिनको दायरामा ल्याउन सरकारले चाहेन।’ सहकारी ऐन २०७४ ले सहकारी संस्थाबाट सदस्यलाई मात्र ऋण परिचालन र बचत संकलनको अधिकार दिएको छ भने कम्पनीमा लगानी गर्न निषेध गरेको छ।

महानगरले गरेको छानबिन प्रतिवेदनअनुसार सूर्यदर्शन सहकारीबाट ४ सय ३३ वटा खातामार्फत १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार रूपैयाँ लगेको देखाएको छ। सहकारीमा १८ हजार ७ सय जनाले १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रूपैया बचत गरेको उल्लेख छ। महानगरले छानबिनका क्रममा सहकारीको सफ्टवेयरमार्फत् उक्त विवरण संकलन गरेको थियो।  जुन प्रतिवेदन जिल्ला प्रहरी कार्यालयमा बुझाएपछि मात्र प्रहरीले अनुसन्धान अघि बढाएको थियो। महानगरको प्रतिवेदन पाएपछि प्रहरीले सहकारी ठगीमा उजुरी दिन आह्वान गरेको थियो। सहकारीमा राखेको बचत फिर्ता नपाएको भन्दै एक हजार ३६ जनाले प्रहरीमा उजुरी दिएका थिए। उनीहरूले उजुरीमा उल्लेख बचत रकम कूल १ अर्ब ११ करोड रूपैयाँ रहेको उल्लेख गरेका छन्। सहकारीको सफ्टवेयरमा १ अर्ब ३५ करोड बढी अपचलन देखिए पनि उजुरीका आधारमा भन्दै १ अर्ब ११ करोड अपचलन मुद्दा लगाउनु पनि कमजोरी भएको पीडित पक्षले बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत समाजवादीको महाधिवेशनका लागि १८०० प्रतिनिधि छनोट
एकीकृत समाजवादीको महाधिवेशनका लागि १८०० प्रतिनिधि छनोट
आज ‘पेन डाउन’ गर्दै आवासीय चिकित्सक, माइतीघरमा पनि प्रदर्शन
आज ‘पेन डाउन’ गर्दै आवासीय चिकित्सक, माइतीघरमा पनि प्रदर्शन
अब अबुधाबीबाट पनि श्रम स्वीकृति लिन पाइने
अब अबुधाबीबाट पनि श्रम स्वीकृति लिन पाइने
पहिरो खसेपछि बुटवल-तानसेन सडक अवरुद्ध
पहिरो खसेपछि बुटवल-तानसेन सडक अवरुद्ध
सिरहाको नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू
सिरहाको नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली, शिक्षक चौहानविरुद्ध विशेष अदालतमा मुद्दा दायर
शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली, शिक्षक चौहानविरुद्ध विशेष अदालतमा मुद्दा दायर
देउवा थाइल्याण्ड गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
देउवा थाइल्याण्ड गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
समाजले अस्वीकार गरेका ठूला नेताहरू र सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा
समाजले अस्वीकार गरेका ठूला नेताहरू र सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा
जनकपुरधाममा मासु, माछा र मदिरा बिक्रीवितरणमा रोक
जनकपुरधाममा मासु, माछा र मदिरा बिक्रीवितरणमा रोक