२६ कात्तिक, काठमाडौं।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेशगत मतभार तयार पारेको छ। निर्वाचन आगामी माघ ११ गते हुँदैछ। निर्वाचनमा प्रदेश सभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहन्छन्। प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुखको मतभार १९ रहेको छ। प्रदेशमा रहेका प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखको संख्यालाई आधार मानेर प्रदेशगत मतभार तयार पारेको हो।

कोशी प्रदेशमा १० हजार १३५ मतभार छ। मधेश प्रदेशमा १० हजार ८३९, बागमती प्रदेशमा १० हजार ३५२, गण्डकी प्रदेशमा ६ हजार ४१० र लुम्बिनी प्रदेशमा ८ हजार ७५३ मतभार रहेको छ। कर्णाली प्रदेशमा ५ हजार १२२ र सुदुरपश्चिम प्रदेशमा ६ हजार १५३ मतभार रहेको छ। राष्ट्रिय सभा सदस्यको रिक्त १९ मध्ये १८ पदका लागि चुनाव हुँदैछ। मनोनीत सांसद वामदेव गौतमको ठाउँमा भने सरकारले अर्को व्यक्तिको नाम सिफारिस गर्नेछ। बाँकी १८ पदका लागि चुनाव हुनेछ। कोही प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ। २०७६ फागुनमा निर्वाचित भएर आएका राष्ट्रिय सभा सदस्यहरू बिदा हुन लागेका हुन्।

Post Comment