निर्वाचन सफल पार्न दलहरूले सरकारलाई सहयोग गर्नुपर्छ : वर्षमान पुन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी निर्वाचन सफल पार्न सबै राजनीतिक दलले सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् ।
मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु देशको राजनीतिक स्थायित्व र लोकतान्त्रिक अभ्यासका लागि अनिवार्य रहेको बताए ।
पुनले भने, “संविधानले तोकेको समयभित्र निर्वाचन सम्पन्न गर्नु हाम्रो साझा जिम्मेवारी हो । सरकारलाई सहयोग गरेर सबै दलले निर्वाचन सफल बनाउन भूमिका खेल्नुपर्छ ।”
उनका अनुसार निर्वाचनले मात्र जनताको मतको कदर हुने र देश स्थिरतर्फ अघि बढ्ने बाटो खुल्नेछ । उनले सबै दललाई जनादेशको सम्मान गर्दै प्रतिपक्षी भए पनि सकारात्मक भूमिकामा रहन आग्रह गरे ।
पुनले हालका राजनीतिक वादविवाद र विरोधका स्वरहरूलाई चुनावी तयारीमा बाधा नपुर्याउने गरी सम्हाल्नुपर्नेमा जोड दिए । उनका अनुसार राजनीतिक प्रतिस्पर्धा स्वाभाविक भए पनि राष्ट्रिय मुद्दामा सहमति र सहकार्य आवश्यक छ ।
उनले अघिल्ला सरकारले देखाएको भ्रष्टाचार र बिचौलियाको प्रवृत्तिबाट पाठ सिक्दै नयाँ सरकार र सबै दलले जनविश्वास कायम गर्नतर्फ ध्यान दिनुपर्ने सुझाव पनि दिए ।
पुनले माओवादी केन्द्र चुनावका तयारीमा जुटिसकेको जानकारी दिँदै भने, “हाम्रो पार्टी चुनावप्रति पूर्ण रूपमा तयार छ । अरू दलले पनि जनताको म्यान्डेटप्रति विश्वास राखेर चुनावी प्रक्रियामा सहकार्य गर्नुपर्छ ।”




Post Comment