जसपा नेपालको लुम्बिनी प्रदेश अधिवेशन कात्तिक २९ र ३० गते हुने
२९ असोज, बुटवल ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालको आगामी लुम्बिनी प्रदेश अधिवेशन कात्तिक २९ र ३० गते रूपन्देहीको भैरहवामा हुने भएको छ । “हामीले लामो समयदेखि स्थगित अधिवेशनलाई अब व्यवस्थितरूपमा सम्पन्न गर्ने तयारी गरेका छौँ । यस अधिवेशनबाट लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व चयन हुनुका साथै पार्टीको संगठनात्मक दिशा र नीतिगत प्रतिबद्धता पनि स्पष्ट हुनेछ,” पार्टीको लुम्बिनी प्रदेश कार्यकारिणी समितिको बैठकपछि प्रदेश कार्यवाहक अध्यक्ष राम अवतार यादवले भने ।

उनका अनुसार, अधिवेशनमा लुम्बिनी प्रदेशका सबै जिल्लाबाट प्रतिनिधि सहभागी हुनेछन् । पार्टीका केन्द्रीय नेता, जनप्रतिनिधि तथा प्रदेशभरका कार्यकर्ताहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ । अधिवेशनमा राजनीतिक, सांगठनिक, नीति–कार्यक्रम र आगामी निर्वाचन रणनीतिसम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछन् । यसअघि, पार्टीले भदौ २५, २६ र २७ गते भैरहवामै अधिवेशन गर्ने तयारी गरेको थियो । तर, जेनजी आन्दोलन, राजनीतिक अस्थिरता र अन्य प्राविधिक कारणहरूका कारण मिति स्थगित भएको थियो ।





Post Comment