नेविसंघले पनि दियो बालेन र सुदनविरुद्ध उजुरी
२६ असोज, काठमाडौं ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध अर्को पनि उजुरी परेको छ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले पनि उनीहरुविरुद्ध उजुरी दिएको हो । नेविसंघका केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाह लगायतले उजुरी दिएका हुन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आउन उक्साएको, आगजनी, तोडफोड गरी सरकारी सम्पत्तिमा क्षति पुर्याएकोले उनीमाथि अनुसन्धान गर्न उजुरीमा माग गरिएको छ । उनीहरुले काठमाडौँ र ललितपुरमा उजुरी दिएका हुन् । यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै सुदन गुरुङसहित मृतकका परिवारका सदस्य प्रहरीकोमा पुगेका थिए । प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि सोसल मिडियामा एरेस्ट केपी र एरेस्ट रमेश लेखक भन्दै अभियान नै चलाइएको थियो ।

त्यसपछि प्रहरीले जाहेरी बुझेर अन्दोलनबारे छानबिन गर्न बनेको आयोगमा पठाएको थियो । सोही दिन बालेन र सुदनविरुद्ध काउन्टर उजुरी लिएर एमाले निकट विद्यार्थी संगठन काठमाडौँ प्रहरी परिसर पुगेको थियो । त्यसपछि बिभिन्न जिल्लामा बालेन र सुनदविरुद्ध उजुरी परेको छ । यता केपी ओली र रमेश लेखकविरुद्ध परेको जाहेरी छानबिन आयोगले प्रहरीमै फिर्ता पठाईदिएको छ ।




Post Comment